विराटनगरको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
प्रदेश १ को एक मात्र महानगर विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइराला र उपमेयरमा नेकपा (एमाले) की शिल्पा निराला कार्की विजयी भएका छन्।
सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कोइरालाले ३० हजार १७० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सागरकुमार थापाले २१ हजार ४५५ मत प्राप्त गरेका छन्।
उममेयरमा भने एमालेकी कार्की २५ हजार ६८० मत सहित विजयी बनेकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका अमरेन्द्र यादवले १४ हजार २१९ मत प्राप्त गरेका छन्। अमरेन्द्र जसपाका अध्यक्ष उपेन्द्र यादवका छोरा हुन्।
२०७४ को स्थानीय तह निर्वाचनमा दुई वटा वडामा मात्रै जितेको एमालेले यस पटक उपमेयर सहित नौ वडाअध्यक्ष जितेको छ। एमालेले वडा नम्बर १‚ २‚ ३‚ ४, ८, १०, ११, १४ र १९ मा वडाध्यक्ष जितेको छ। नेपाली कांग्रेसले वडा नम्बर ५, ६, ७, ९, १२, १५ र १६ गरी सात वटामा वडाध्यक्ष जितेको छ। वडा नम्बर १८ मा स्वतन्त्र, वडा नम्बर १३ मा राप्रपा र वडा नम्बर १७ मा जसपाले वडाध्यक्ष जितेको छ। माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले कुनै पनि वडामा जित हासिल गर्न सकेनन्।