उपमेयरमा उपेन्द्र यादवका छोरा अमरेन्द्रको पराजय निश्चित
विराटनगर महानगरपालिकाको मतगणना नसकिंदै गठबन्धनबाट उपमेयरका उम्मेदवार अमरेन्द्र यादव पराजित भएका छन्।
जनता समाजवादी पार्टी (जसपा) बाट उपमेयरको उम्मेदवार बनेका अमरेन्द्र नेकपा (एमाले) की उम्मेदवार शिल्पा निराला कार्कीसँग पराजित भएका हुन्। अमरेन्द्र जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा हुन्। यसको औपचारिक घोषणा हुन बाँकी छ।
विराटनगरमा अझै सात हजार मतगणना गर्न बाँकी छ। गठबन्धनका उम्मेदवार अमरेन्द्र एमाले उम्मेदवार शिल्पासँग १० हजार ३९७ मतले पछाडि छन्।
उनले १३ हजार २३४ मत पाएका छन् भने एमाले उम्मेदवार शिल्पाले २३ हजार ६३१ मत पाएकी छन्।
जसपा अध्यक्ष यादवको घर रहेको विराटनगर-१४ मा पनि एमालेको प्यानल नै निर्वाचित भएको छ।
गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइरालाले २७ हजार २६४ मत पाएका छन्। उनका प्रतिस्पर्धी एमालेका सागर थापाले २० हजार ७९ मत पाएका छन्।