एमाले अध्यक्ष ओलीको गृहनगर दमकमा राप्रपाका थापा विजयी
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रामकुमार थापा विजयी भएका छन्।
थापाले १७ हजार ५२५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) की गीताकुमारी पौडेल अधिकारीले १७ हजार ७२ मत प्राप्त गरेकी छन्। अधिकारी निवर्तमान उपमेयर हुन्।
यस्तै‚ उपमेयरमा नेपाली कांग्रेसकी रेगिना भट्टराई १६ हजार ९६६ मत सहित विजयी भएकी छन्। उनले एमालेका अम्बिकाप्रसाद खनाललाई पराजित गरेकी हुन्। खनालले १६ हजार ५७४ मत प्राप्त गरेका छन्।
वडाध्यक्षमा मिश्रित नतीजा आएको छ। वडा नम्बर १ मा एमालेका हरिप्रसाद न्यौपाने, २ मा एमालेकै प्रजापति सापकोटा, ३ मा एमालेका नवीन बराल, ४ मा कांग्रेसका पुण्यप्रसाद दाहाल निर्वाचित भएका छन्।
त्यस्तै‚ वडा नम्बर ५ मा एमालेका इन्द्रबहादुर गुरुङ, ६ मा एमालेकै टेकबहादुर थापा, ७ मा राप्रपाका भीमप्रसाद पौडेल, ८ मा एमालेका धर्मप्रसाद दाहाल, ९ मा एमालेकै कुबेरप्रसाद भट्टराई र १० मा कांग्रेसका राजेन्द्रप्रसाद भण्डारी निर्वाचित भएका छन्।
यस नगरपालिकामा राप्रपा सहितको ६ दलीय गठबन्धनबाट थापा मेयरका उम्मेदवार बनेका थिए।