यी हुन् स्थानीय सरकार हाँक्ने नेत्री
वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट अहिलेसम्म १४ जना महिला पालिकाको मेयर/अध्यक्ष पदमा निर्वाचित भएका छन्।
बिहीबार बेलुकीसम्मको नतीजा अनुसार‚ नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बाट गरी १४ जना महिला मेयर/अध्यक्षमा निर्वाचित भएका हुन्।
निर्वाचितमध्ये पाँच जना नगरपालिकाका मेयर छन्। नौ जना गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन्। तीमध्ये सबैभन्दा बढी एमालेबाट आठ, कांग्रेसबाट चार र माओवादी केन्द्रबाट दुई जना निर्वाचित भएका हुन्। एमालेबाट नगरपालिकाको मेयरमा तीन र गाउँपालिका अध्यक्षमा पाँच जना निर्वाचित भएका छन्। यस्तै‚ कांग्रेसबाट मेयरमा दुई र अध्यक्षमा दुई निर्वाचित भएका छन्। माओवादी केन्द्रबाट निर्वाचित दुवै जना गाउँपालिका अध्यक्ष हुन्।
२०७४ सालको निर्वाचनमा सात जना मेयर र ११ जना गाउँपालिका अध्यक्ष गरी १८ जना महिला पालिका प्रमुखमा निर्वाचित भएका थिए। यस्तै‚ ६२ जना वडाध्यक्षमा निर्वाचित भएका थिए।
यस पटकको निर्वाचनमा प्रमुख राजनीतिक दलहरूले कार्यकारी पदमा महिलाको मनोनयन दर्ता नै अत्यन्त कम गरेकाले कम सङ्ख्यामा महिला कार्यकारी पदमा निर्वाचित हुने देखिएको छ। सत्ता गठबन्धनले गरेको चुनावी तालमेलका कारण पनि यो निर्वाचनमा उपप्रमुखमा निर्वाचित हुने महिलाहरूको सङ्ख्या स्वतः घट्ने भएको छ।
प्रत्येक वडामा एक महिला र एक दलित महिला सदस्य हुनैपर्ने, गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगर, उपमहानगर र महानगरपालिकाको मेयर र उपमेयरमध्ये एक पदमा महिला उठाउनैपर्ने संवैधानिक बाध्यता छ। तर‚ राजनीतिक दलबीच चुनावी तालमेल भई मेयर र उपमेयर तथा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा पुरुष उम्मेदवार उठाउँदा यस वर्ष महिला जनप्रतिनिधिको सङ्ख्या घट्ने देखिएको छ।
एमालेबाट निर्वाचित मेयर/अध्यक्ष
१. सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाः मेयर‚ मोहनमाया ढकाल
२ .चितवनको माडी नगरपालिकाः मेयर‚ ताराकुमारी काजी महतो
३. पश्चिम नवलपरासीको सुनवल नगरपालिकाः मेयर‚ विमला अर्याल
४. सिन्धुलीको फिक्कल गाउँपालिकाः अध्यक्ष‚ पार्वती सुनुवार
५. मोरङको कानेपोखरी गाउँपालिका: अध्यक्ष‚ राजमती इङ्नाम
६. रौतहटको मौलापुर नगरपालिकाः अध्यक्ष‚ रीनाकुमारी साह
७. पर्वतको मोदी गाउँपालिकाः अध्यक्ष‚ हिरादेवी शर्मा
८. पाल्पाको बगनासकाली गाउँपालिकाः अध्यक्ष‚ सरस्वती दर्लामी चिदी मगर
कांग्रेसबाट निर्वाचित मेयर/अध्यक्ष
१. सप्तरीको सुरुंगा नगरपालिकाः मेयर‚ गीताकुमारी चौधरी
२. खोटाङको हलेसी तुवाचुङ नगरपालिकाः मेयर‚ विमला राई
३. दैलेखको भैरवी गाउँपालिकाः अध्यक्ष‚ रिता शाही
४. सोलुखुम्बुको लिखुपिके गाउँपालिकाः अध्यक्ष‚ मीनादेवी कार्की
माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष
१. खोटाङको जन्तेढुंगा गाउँपालिका: अध्यक्ष, अरूणादेवी राई
२. सिन्धुलीको सुनकोशी गाउँपालिकाः अध्यक्ष, दीपा बोहोरा दाहाल