नेपालगञ्जको मेयरमा गठबन्धनका विष्ट जित नजिक, करीब ११ हजार मतले अगाडि
बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा गठबन्धन तर्फबाट नेपाली कांग्रेसका प्रशान्त विष्ट जितको नजिक पुगेका छन्।
२३ वटा वडा रहेको उपमहानगरपालिकाको २१ वडाको मत गणना सम्पन्न भइसकेको छ। दुई वटा वडाको मतगणना जारी रहेको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ।
अहिलेसम्म विष्ट आफ्नो प्रतिस्पर्धीभन्दा १० हजार ६८६ मतले अगाडि छन्। उनले २१ हजार ६७८ मत र उनलाई पछ्याइरहेका नेकपा (एमाले)का पशुपतिदयाल मिश्राले १० हजार ९९२ मत पाएर दास्रो स्थानमा छन्। यसैगरी राप्रपाका नन्दलाल वैश्यले सात हजार १४५ मत पाएर तेस्रो स्थानमा छन्। २०७४ सालको स्थानीय तह निर्वाचनमा राप्रपाले सर्वाधिक मत ल्याएर मेयर जितेको थियो।
उपमेयरमा गठबन्धन तर्फबाट जनता समाजवादी पार्टीका कमरुद्धिन राई अग्रस्थानमा छन्। उनले १६ हजार ११८ मत‚ एमालेकी शान्तिदेवी ढकालले १० हजार ४१४ मत र राप्रपाकी विन्दु चर्ती मगरले नौ हजार ६४८ मत प्राप्त गरेका छन्।
उपमहानगरमा ६१ हजार १६१ मत खसेका थियो। अहिलेसम्म करीब ५७ हजार मत गणना भइसेको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ।