सप्तरीमा माओवादी केन्द्रको पहिलो जित
सप्तरीको खडक नगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) ले जित हासिल गरेको छ।
नेकपा (एकीकृत समाजवादी) सँग गठबन्धन गरेर माओवादी केन्द्रबाट मेयरमा जयप्रकाश चौधरी पाँच हजार ८८२ मत ल्याई निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी निवर्तमान मेयर जनता समाजवादी पार्टीका हेमायु हकले पाँच हजार ६७ मत प्राप्त गरेका छन्।
यसअघि सप्तरीको कुनै पनि स्थानीय तहको प्रमुख र उपप्रमुख पदमा माओवादी केन्द्रले जित्न सकेको थिएन। माओवादी केन्द्रले नगरपालिकाको एउटा मात्र वडा नम्बर ६ मा जित हासिल गरेको छ।
यस्तै‚ उपमेयरमा जसपाकी रीताकुमारी चौधरी ६ हजार २३१ मत ल्याएर निर्वाचित भएकी छन्। उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी यसमिन सुल्तान खातुनले तीन हजार २१० मत प्राप्त गरिन्। पराजित खातुन पनि निवर्तमान उपप्रमुख हुन्।
११ वडा रहेको खडक नगरपालिकामा जसपाले वडा नम्बर २, ६, ९ र ११, कांग्रेसले वडा नम्बर ३, ८ र १०, एकीकृत समाजवादीले वडा नम्बर ४ र ५ तथा लोसपा र माओवादीले क्रमशः वडा नम्बर १ र ६ मा जित हासिल गरेका छन्। -रासस