विजय जुलूसको ट्र्याक्टर दुर्घटनामा १५ घाइते, दुई गम्भीर
मोरङको सुनवर्षी नगरपालिकामा विजय जुलूसमा निस्केको ट्र्याक्टर दुर्घटना हुँदा १५ जना घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर रहेको छ।
सुनवर्षी नगरपालिकाको मेयर र उपमेयरमा नेकपा (एमाले) का उम्मेदवार श्याम राजवंशी र मिरादेवी दास निर्वाचित भएका छन्। सुनवर्षी-६ केरन्जा विजय जुलुसमा सहभागी बोकेको को. २ त १४३७ नम्बरको ट्र्याक्टर दुर्घटना भएको हो।
दुर्घटनामा घाइते भएकामध्ये सुनवर्षी-६ का राजकुमार सरदार र चैता सरदारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरूको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ।
त्यस्तै, घाइतेमध्ये सात जना कोशी अस्पताल, विराटनगरमा र ६ जना जिल्ला अस्पताल, रंगेलीमा सामान्य उपचारपछि घर फर्किएको इलाका प्रहरी कार्यालय, रंगेलीका प्रहरी निरीक्षक शैलेश न्यौपानेले बताए।