देशभर २९ हजार जनप्रतिनिधि निर्वाचित
स्थानीय तहको चुनावबाट बिहीबारसम्म २९ हजार ३०३ जना जनप्रतिनिधि निर्वाचित भएका छन्।
देशभर ३५ हजार २२१ जनप्रतिनिधि चयनका लागि वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको थियो। धेरैजसो स्थानीय तहको मतगणना सकिएको छ भने बाँकीको मतगणना चलिरहेको छ।
बिहीबार साँझ ५ बजेसम्म देशभरका ५७० स्थानीय तहको मतगणना सम्पन्न भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। जसमा १७४ जना मेयर र त्यति नै सङ्ख्यामा उपमेयर रहेका छन्।
त्यस्तै, ३९६ अध्यक्ष र त्यति नै सङ्ख्यामा उपाध्यक्ष पनि निर्वाचित भएको आयोगले जनाएको छ। यससँगै अहिलेसम्म पाँच हजार ६५९ जना वडाध्यक्ष निर्वाचित भएका छन्।
स्थानीय चुनावबाट अहिलेसम्म पाँच हजार ६५३ जना महिला सदस्य र पाँच हजार ५५६ दलित महिला सदस्य निर्वाचित भएका छन्। यस्तै, १० हजार २९५ वडा सदस्य निर्वाचित भएको आयोगले जनाएको छ।