वीरेन्द्रनगरको मेयरमा मोहनमाया निर्वाचित
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार निर्वाचित भएका छन्।
सत्ता गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै मेयरमा मोहनमाया ढकाल र उपमेयरमा नीलकण्ठ खनाल निर्वाचित भएका हुन्। एमालेको प्रभाव क्षेत्र रहेको वीरेन्द्रनगरमा गत निर्वाचनमा मेयरमा कांग्रेसले जित्दा उपमेयरमा ढकालले जितेकी थिइन्। यस पटक एमालेले उनैलाई मेयरको उम्मेदवार बनाएको थियो।
मेयरमा निर्वाचित ढकालले १६ हजार ३८ मत पाएकी छन्। उनका प्रतिस्पर्धी कांग्रेसका उपेन्द्र खड्काले १५ हजार ४८४ मत पाए। त्यस्तै, राप्रपाबाट मेयरका उम्मेदवार मुकुन्दश्याम गिरीले नौ हजार ९८८ मत पाएका छन्।
उपमेयरमा निर्वाचित खनालले २० हजार ३६४ मत पाएकी छन् भने प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) की शान्ति ढकालले ११ हजार ५३३ मत पाएकी छन्। राप्रपाकी उम्मेदवार लक्ष्मीकुमारी सार्कीले तीन हजार ९६७ मत पाइन्।