रूस-युक्रेन युद्ध: मिडियाको दुष्प्रचार लडाइँ
रूस-युक्रेन युद्धबारे पूर्वाग्रह प्रेरित सूचना-युद्धले मिडियाको विश्वसनीयता र गरिमामै धब्बा लगाएको छ।
रूस-युक्रेन युद्धलाई विश्वभरिका मिडियामा के कसरी प्रस्तुत गरिएको छ भन्ने कुरा अहिले धेरैको चासो र चर्चाको विषय बनेको छ। एउटै घटनालाई विभिन्न सञ्चार माध्यमले आआफ्ना राजनीतिक र सामरिक स्वार्थ अनुसार विश्लेषण गरिदिंदा यस्तो चासो हुनु स्वाभाविक हो। तर, यस्तो मनमौजी समाचार प्रस्तुति र विश्लेषणले मिडियाले रटान लगाइरहने ‘विश्वसनीयता’ र ‘व्यावसायिकता’ छताछुल्ल पारिदिएको छ।
विश्वकै सुरक्षा, खाद्यान्न र ऊर्जामा प्रत्यक्ष प्रभाव पार्ने भएकाले रूस-युक्रेन युद्धबारे विश्वव्यापी रूपमै समाचारको बाढी त छ नै, मिथ्या सूचना र अपसूचना (दुष्प्रचार) को बिगबिगी पनि त्यत्तिकै छ। मेमोरियल युनिभर्सिटी, न्यू फाउन्डल्यान्ड क्यानाडाका प्राध्यापक एन्टोन ओलेनिकका विचारमा रूस-युक्रेन युद्धमा प्रोपगान्डा र दुष्प्रचार मुख्य रणनीति भइरहेको छ।
युक्रेनी र पश्चिमा देशहरूले यो युद्धलाई ‘हस्तक्षेप’ भन्दै छन् भने रूसी मिडियाले त्यसलाई ‘विशेष सैन्य कारबाही’ भनिरहेका छन्। चिनियाँ मिडियाले रूसकै भाषा बोलेका छन् भने विश्वकै ठूलो लोकतन्त्र भनिएको भारतका मिडिया त युक्रेनको हास्यकलाकारले राजनीति गर्न जानेन भनेर युक्रेनी राष्ट्रपतिकै दोष देखाइरहेका छन्।
दुष्प्रचारमा पक्ष-विपक्ष मिडिया
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले रूसको सुरक्षामा चुनौती थपेकाले सैनिक कारबाही गर्नुपरेको बताउँदै आएका छन्। रूसी मिडिया पुटिन प्रशासनकै जस्तो भनाइ दोहोर्याइरहेका छन्- ‘यूरोप र नेटोसँग नजिकिएर युक्रेनले रूसमाथि खतरा निम्त्याइरहेको छ। रूसले यथाशक्य युक्रेनमाथि आफ्नो आधिपत्य कायम राख्नुपर्छ, नत्र रूसी जनता अप्ठेरोमा पर्छन्।’
युक्रेन र पूर्व रूसी गणराज्यहरूमा हुने कुनै पनि स्वतन्त्रता सम्बन्धी आन्दोलनलाई रूसी मिडियाले पश्चिमी देशहरूले रचेको षड्यन्त्र, हिंसात्मक ‘कू’ वा त्यस्तै कुनै नाम दिन्छन्। सन् २०१४ पछि गठन भएका युक्रेनी सरकारलाई रूसी मिडियाले अवैधानिक, स्वघोषित, जुन्टा र फासिस्ट नाम दिएका छन्। युक्रेनलाई असफल राज्यका रूपमा चित्रण गरी त्यसलाई सफल बनाउन रूसको हस्तक्षेप जरुरी भएको आशय प्रकट गर्छन्।
रूसमा सरकारी मिडिया निकै प्रभावशाली छन्, तर ती सरकारको खटनपटनमा छन्। रूसको सैन्य कारबाहीको आलोचना गर्ने विदेशी मिडियालाई त्यहाँ प्रतिबन्ध लगाइएको छ। गत मार्च ४ देखि लागू भएको नयाँ कानून अनुसार रूसी मिडियामा ‘युद्ध’ भन्ने शब्द प्रयोग गर्न वा सैनिक हताहतीको विवरण प्रकाशन/प्रसारण गर्न बन्देज छ। रूसी सेना र सरकारको आलोचना गर्नु (वा सरकारको भाषामा मिथ्या समाचार फैलाउनु) भनेको राज्यद्रोहको अपराधमा १५ वर्ष जेल जान तयार हुनु हो।
यही कानूनका कारण रूसका प्रेस स्वतन्त्रताको पक्षधर पत्रकारहरू देश छाडिरहेका छन्। अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले आफ्ना समाचार शाखा बन्द गरिरहेका छन्। युक्रेनमा विभिन्न देशका पत्रकार छन्, जो ‘प्रेस’ लेखिएका ज्याकेट लगाएर समाचार सङ्कलनमा खटिएका छन्। तर पनि, उनीहरू रूसी सेनाको निशानामा परेका छन्, किनभने स्वतन्त्र प्रेस पुटिन प्रशासनका लागि दुश्मन हुन्।
रूसी मिडियाले बारम्बार मिथ्या सूचना फैलाएका छन्। सरकारको पक्षमा दिनहुँको मिडिया प्रोपगान्डाबाट दिक्क भएकी सरकारी टेलिभिजन च्यानल वनकी पत्रकार मरिना ओभ्स्यानिकोभाले ‘नो वार। युद्ध रोकौं। प्रोपगान्डामा विश्वास नगरौं। तिनीहरू तपाईंलाई ढाँटिरहेका छन्। रूसीहरू युद्धको विपक्षमा छन्’ लेखिएको प्लाकार्ड बोकेर आफैंले काम गर्ने टेलिभिजनमा समाचार प्रस्तोताको पछाडि देखा परिन्।
उनलाई तत्काल गिरफ्तार गरियो। राज्यद्रोहको मुद्दा लगाइयो, जस अनुसार उनी १५ वर्षसम्म जेल पर्न सक्थिन्। तर, मानव अधिकारवादी संस्थाहरूको पहलमा उनलाई ३० हजार रुबल (रूसी मुद्रा) तिराएर मुक्त गरियो। उनको जागीर खोसियो।
हालै ‘मेमो-९८’ नामक संस्थाले गरेको अध्ययन अनुसार, रूसी मिडियाले पटक पटक हुँदै नभएका बनिबनाउ समाचारहरू प्रसारण गरेका छन्। ती समाचार प्रायः बेनामे स्रोतमा वा आफैंले उत्पादन गरेका ब्लगमा आधारित हुन्छन्। रूसी सरकार नियन्त्रित रोसिया सेगोदिन्या समाचार संस्थाले प्रकाशन गरेको एउटा समाचारमा सन् २०१५ देखि २०१९ सम्म सत्ता सम्हालेका युक्रेनी राष्ट्रपति पेट्रो पोरोसेन्को (जो प्रो-यूरोपियन राजनीतिज्ञ भनेर चिनिन्छन्) को साँठगाँठ क्रिश्चियन धर्ममा चर्चित लुसिफर भन्ने राक्षससँग छ भनेर लेखिएको थियो। धर्मसँग जोडिएका समाचार बहुसङ्ख्यक क्रिश्चियन पाठकले पत्याउने नै भए। पछि, यो समाचार हटाइयो। यस्ता अनेक उदाहरण छन्।
चीन रूसको पक्षमा भएकाले चिनियाँ मिडियाले त्यसै अनुसार पक्षपोषण गरिरहेका छन्। युक्रेन युद्धलाई विशेष सैन्य कारबाही भन्दै सीसीटीभीले युक्रेनमा अमेरिकी षड्यन्त्र अनुसार जैविक हतियार बनाई रूसमाथि आक्रमण गर्ने योजना रहेको दाबी गरेको थियो। चिनियाँ मिडियामा सत्तारूढ चिनियाँ कम्युनिष्ट पार्टीको प्रत्यक्ष हस्तक्षेप रहने भएकाले मिडियाले सरकारी चाहनाको प्रतिनिधित्व गर्छन्।
संसारकै ठूलो लोकतन्त्र भनिएको भारत पनि रूसकै पक्षमा लागेर युद्धको रणनीतिक फाइदा लिन खोजिरहेको छ। रूसले निकै छूटमा इन्धन दिने आशामा भारत र त्यहाँका मिडिया युक्रेनको दुष्प्रचारमा लागेका छन्। रूसलाई निन्दा गरिएको राष्ट्रसङ्घको प्रस्तावमा मतदान हुँदा भारतले भाग नै लिएन। यो कदम लज्जास्पद भए पनि बहुसङ्ख्यक भारतीय मिडियाले त्यसको आलोचना गरेनन्। बरु, प्रधानमन्त्री मोदीकै बोलीमा स्वर मिलाए।
युक्रेनी र पश्चिमा मिडियामा पूर्वाग्रह
रूसमा झैं युक्रेनी मिडियामा पनि सरकारको दबाब र प्रभाव छ। जसका कारण आलोचनात्मक चेत भएका समाचार र विचारभन्दा सरकारलाई सघाउने सामग्री प्रवाह गरिएको छ। युक्रेनी मिडियाले ‘युक्रेनको अस्थिरताको कारण रूस हो, सरकार विरोधी समूहहरूलाई उक्साउने पनि रूस हो, दोनेस्क र लुहान्स्क क्षेत्रमा भइरहेका राजनीतिक अस्थिरता मच्चाउनेहरू रूसद्वारा सञ्चालित आतङ्ककारी हुन्’ भन्ने आशय दोहोर्याइरहेका छन्। अझ रूसी सेनातर्फको हताहतीलाई बढाइचढाइँ गरेर भन्ने तर युक्रेनी सेनाको हताहती र अवस्थाबारे यथार्थ कुरा नभन्ने प्रवृत्ति छ।
युक्रेनमा प्रायः सैनिकले स्मार्टफोन र ड्रोनको प्रयोग गरेर मौका पाउने बित्तिकै युद्धस्थलको फोटो-भिडिओ खिच्छन्। आफ्ना सामाजिक सञ्जालमा राख्छन्, ताकि संसारले युक्रेन युद्धलाई नजिकबाट थाहा पाओस्। सुरक्षाका कारण पत्रकारहरू युद्ध भएकै स्थानमा युद्ध भइरहेकै समयमा पुग्न सक्ने अवस्था हुँदैन। तसर्थ, युद्धका प्रत्यक्षदर्शीहरूले प्रकाशन गरेका सामग्रीलाई आधार मानेर पत्रकारले समाचार बनाएका छन्। तर, ती सूचना सामग्री कति एकपक्षीय वा पूर्वाग्रही छन् भनेर आधिकारिकता पुष्टि गर्न सजिलो छैन। युक्रेनी र पश्चिमा मिडियामा अहिले यस्तै एकपक्षीय सूचना सामग्रीको बिगबिगी छ।
पश्चिमा मिडियाले मुख्य दुई पूर्वाग्रह राखेका छन्। पहिलो, युक्रेनी सेनाको हताहती र उनीहरूका हर्कतबारे सकेसम्म नबोल्नु। दोस्रो, कतिपय पत्रकारले रूस र युक्रेनको युद्धलाई वर्णभेदी र ‘सभ्य देशहरू’ भन्ने भाष्य प्रस्तुत गर्नु।
जस्तै, सीबीएस न्यूज टेलिभिजनका युक्रेन संवाददाता चार्ली दगाताले रूस र युक्रेन जस्ता सभ्य र यूरोपेली देशहरू अफगानिस्तान र इराक जस्तै युद्धमा होमिएको विचारयुक्त रिपोर्ट प्रस्तुत गरे। त्यस्तै, बीबीसीका युक्रेन संवाददाता डेभिड साक्भारेलिजले ‘नीलो आँखा र कैलो कपाल भएका यूरोपेली जनता भकाभक मरिरहेको देखिरहेको छु’ भने।
बेलायती पत्रकार ड्यानियल हनानले ‘उनीहरू त ठ्याक्कै हामी जस्तै छन् ... गरीब र दुर्गम देशहरूमा मात्रै युद्ध नहुने रहेछ’ भन्ने आशय सहितको लेख द टेलिग्राफमा प्रकाशन गरे। मानौं, यूरोपमा युद्ध भएकाले, सेतो वर्णका मानिस युद्धपीडित भएकाले पश्चिमा पत्रकारलाई बढी नै दुखिरहेको छ, र यही कुरा सिरिया, इराक, अफगानिस्तान वा अफ्रिकामा हुनु भनेको उनीहरूका लागि सामान्य हो। पत्रकारको काम ‘प्रोफेसनल’ हुने हो, ‘इमोसनल’ हुने होइन, तर रूस-युक्रेन युद्धले पश्चिमा दृष्टिकोण र पूर्वाग्रहलाई पत्रकारिता मार्फत छताछुल्ल पारेको छ।
प्राध्यापक एन्टोन ओलेनिकले मार्चभरि रूसको गजेटा डटरु, युक्रेनको युक्रेन्स्का प्राभ्दा र अमेरिकाको सीएनएनमा प्रकाशित समाचारहरूमा पूर्वाग्रह र दुष्प्रचारको विश्लेषण गरेका छन्। गजेटा र प्राभ्दा दुवैले आआफ्नो देश वा सरकारलाई फाइदा हुने मिथ्या समाचारहरू प्राथमिकताका साथ प्रकाशन/प्रसारण गरेकोे पाइयो। गजेटामा ‘युद्ध’ शब्दको प्रयोग लगभग शून्य छ। युक्रेनको मिडियाले रूसी सेनाले हारेको र उनीहरूको हताहतीको विवरण थप बढाएर समेत प्रस्तुत गरेको पाइयो।
सङ्कटमा साख
महाभारतमा युधिष्ठिरले भनेको वाक्यांश छः ‘अश्वत्थामा हतोहतः नरो वा कुञ्जरो वा’। सत्यवादी युधिष्ठिरले समेत युद्ध जित्न ‘अश्वत्थामा मरेकै हो, मानिस वा हात्ती के हो भन्ने थाहा भएन’ भनेर बहुअर्थी वाक्य भन्दिए। आफ्नो छोरो अश्वत्थामा मरेको ठानेर शोकमा हतियार बिसाएका द्रोणाचार्यलाई धृष्टद्युम्नले तत्कालै हत्या गरिदिए।
महाभारत जस्तो सत्य र असत्यको युद्धमा समेत प्रोपगान्डाको प्रयोग भएको थियो भने अहिलेका युद्धहरूमा जित मुख्य कुरा हो, सत्य-असत्यको कुरा गौण। तसर्थ, पूर्वाग्रह र दुष्प्रचारले हरेक युद्धको वास्तविकतालाई नराम्ररी प्रभावित पार्ने गर्छन्।
रूस-युक्रेन युद्धका कारण विश्वभरि नै खनिज तेलको भाउ बढेको छ, खाद्यान्नको उपलब्धता सीमित र महँगो भएको छ, युक्रेनीहरू विभिन्न देशमा शरणार्थी भएका छन्। अझ रूसले परमाणु युद्धको धम्की दिएकाले पनि पश्चिमा विश्वले असुरक्षा महसूस गरेको छ। यी कारणले रूस-युक्रेन युद्ध हरेक व्यक्तिको चासोको विषय भए पनि पश्चिमा देशहरूमा यसको अझ बढी रणनीतिक महत्त्व छ। त्यसैले दर्जनौं अमेरिकी र यूरोपेली मिडियाहरूबाट लगातार ‘लाइभ कभरेज’ आएको आयै छ।
दरबार हत्याकाण्डका वेला नेपालमा भए झैं अहिले युक्रेनमा ‘पारासुट जर्नालिज्म’ चलिरहेको छ। जुनसुकै देशबाट पत्रकार पुगिरहेका छन्, आआफ्ना स्वार्थ र पूर्वाग्रह अनुसारका सूचना सार्वजनिक गरिरहेका छन्। अर्कातिर, रूसले सरकारको स्वार्थ अनुकूल बाहेकका समाचारलाई प्रतिबन्ध लगाएको छ र मिडियामा आफ्नो नियन्त्रण राखेको छ।
रूसी राष्ट्रपति पुटिन सञ्चार शक्तिलाई सैन्य शक्ति जत्तिकै संवेदनशील मान्छन्। सन् २००० मा उनी सत्तामा आएसँगै मिडियामा निगरानी बढ्दो छ। युद्धका समयमा सरकारी प्रोपगान्डा बाहेक रूसी मिडियाले केही प्रकाशन/प्रसारण गर्न नै पाउँदैनन्। पश्चिमी देशका मिडियाका लागि यो प्रतिष्ठाको लडाइँ हो। तसर्थ, रूस पक्षधर र युक्रेन पक्षधर मिडियाहरूले शीतयुद्ध शुरू गरेका छन्।
युद्धका पक्षधर मिडियाले यथार्थ कुरा भन्न कठिन छ। सत्य कुरा भन्दा राज्यद्रोहको मुद्दा लाग्न सक्छ। आफ्नो देश, जनता र सेनाको मनोबल बढाउनैपर्ने दबाब हुन्छ। खासमा त्यहाँ पत्रकारिता कम, सूचना-युद्ध बढी हुन्छ। अहिले भइरहेको त्यही हो। तर, लोकतान्त्रिक भनिएका देशहरूका मिडिया र पत्रकारले समेत सरकारको भाषा बोल्ने र सरकारकै रणनीतिक औजारका रूपमा प्रयोग हुने अवस्थाले चौथो अङ्ग वा ‘वाचडग’ उपमा पाएको पत्रकारिताको साख घटाएको छ।
(आचार्य युनिभर्सिटी अफ अटवा र सेन्ट पल युनिभर्सिटी क्यानाडामा अनुसन्धान र प्राध्यापनमा संलग्न छन्। हिमालको २०७९ जेठ अंकबाट।)