विजयी घोषणा गरेपछि भेटियो सिलबन्दी मतपेटिका
उम्मेदवारलाई विजयी घोषणा गरेपछि सिल नखोलिएको एउटा मतपेटिका भेटिएको छ।
महोत्तरीको बर्दिबास नगरपालिका-८ का उम्मेदवार विजयी भएको घोषणापछि मात्रै एउटा मतपेटिकाका मतपत्र नगनिएको खुलेको हो। विजयी घोषणा गरेपछि एउटा मतपेटिका सिल नै नखोलेको अवस्थामा भेटिएको छ।
तीन दिनअघि बर्दिबास नगरपालिका-८ को मत परिणाम सार्वजनिक गरिएको थियो। यो वडामा नेकपा (माओवादी केन्द्र) का शमशेरसिंह लामा वडाध्यक्षमा निर्वाचित भएको घोषणा गरिएको थियो।
निर्वाचित घोषणा गरिएका लामाले ७५३ मत पाएका थिए। उनका प्रतिस्पर्धी नेकपा (एमाले) का रुद्र किङरिङले ७४४ मत पाएका थिए। निर्वाचन अधिकृत भूपेन्द्र सापकोटाको लापरवाहीले यस्तो भएको एमालेको आरोप छ। धाँधली भएको भन्दै एमालेले विरोध जनाएको छ।
सिल नखोलिएको मतपेटिकामा ८० देखि ८५ मतपत्र रहेको जनाइएको छ। मतपेटिका स्टोरमा राख्ने क्रममा सिल नखोलिएको भेटिएको निर्वाचन अधिकृतको कार्यालय, बर्दिबासले जनाएको छ।
मतदान अधिकृतले दिएको जानकारी अनुसार नै रुजु गरेर वडा नंं ८ का मतपेटिका एकै ठाउँमा राखेको सहायक निर्वाचन अधिकृत शर्मिला तामाङले बताइन्। अहिले वडा नं. ९ को मतगणना भइरहेको र त्यसपछि सर्वदलीय बैठक बसालेर निकास निकालिने उनले बताइन्।
माओवादी प्रदेश कमिटी सदस्य राजन ढुंगानाले भेटिएको मतपेटिका खोलेर पुनः मतगणना गर्नु कुनै अर्थ नरहेको बताए। “आयोगले जितको प्रमाणपत्र समेत दिइसकेको अवस्थामा गल्ती भयो फेरि गन्नु भन्नुको औचित्य हुन्छ र? अन्तिम परिणाम घोषणा गर्नुपूर्व सबै रुजु गर्नुपर्ने हो, त्यो किन गरिएन?” उनले भने। एमालेले भने फेरि मतगणना गर्नुपर्ने माग गरेको छ।