प्रश्न हराउँदै गएको पत्रकारिता
हामीकहाँ पत्रकारले राजनीतिक दलको प्रतिनिधि बन्दा वा चुनावै लड्दा पनि पत्रकारिता छोड्दैन। अनि उही स्वतन्त्र र व्यावसायिक पत्रकारिताबारे धाराप्रवाह प्रवचन दिइरहेको हुन्छ। हामी तिनलाई किन प्रश्न गर्दैनौं?
काठमाडौंमा गत साता आयोजित ‘हिमाल मिडिया मेला’ मा पत्रकारिता शुद्धीकरण हेतुले शृङ्खलाबद्ध संवाद चले। मुख्य वक्ता भारतका चर्चित पत्रकार रवीश कुमारले पत्रकारितामा आग्रह, पूर्वाग्रह, कुण्ठा र आवेग/संवेगलाई पर राखेर वस्तुनिष्ठ प्रश्न गर्नुपर्नेमा जोड दिए। पछिल्लो समय खास गरी भारतीय सञ्चार माध्यममा देखिएका विकृति र प्रवृत्तिहरू केलाउँदै उनले नेपाली पत्रकारितालाई तीबाट टाढै रहन सुझाए।
भारतमा सन् २०१४ पछि अभ्यासमा आएको (अ)पत्रकारिताको बाछिटाले हामीलाई पनि क्रमशः हान्दै छ। किनकि‚ यहाँ पनि पत्रकारितामा प्रश्नहरू हराउँदै छन्। प्रश्नको ठाउँ पत्रकारका निजी विचार, आग्रह/पूर्वाग्रहले लिंदै छन्। प्रश्नकर्ताले आफ्ना प्रश्नलाई जानीजानी कमजोर बनाएका, जवाफदेह बन्नुपर्नेलाई उम्कने ठाउँ दिएका उदाहरण प्रशस्तै भेटिन्छन्। पत्रकारिता गर्ने पत्रकार हराउँदै छन्। हाम्रो पत्रकारिता इन्टरनेटका कारण अझ खुम्चिँदो छ। जवाफदेह पत्रकारिताको अभाव दिनानुदिन खट्कँदो छ।
यस्तो अवस्थामा स्थापित पत्रिका, अनलाइन, रेडियो/टिभीका सम्पादक, पत्रकार तथा यो पेशाको शुद्धीकरण चाहने नागरिक एक ठाउँ बसी व्यावसायिक पत्रकारिताको बहस गरिनु सुखद हो। सीमित व्यक्ति वा सञ्चार माध्यमले गरेको यस्तो प्रयासको सराहना हुनैपर्छ। तर, यस्तो कार्यक्रम आयोजनाको भार सधैं एउटैलाई पारिरहन हुन्न।
केही दिनअघि हामीले पनि ‘प्रविधि नियन्त्रित पत्रकारिता’ बोकेको प्रेस स्वतन्त्रता दिवस मनायौं। प्रविधिले दिएको फैलिने मौकाबाट फाइदा लिनुको साटो यसले खुम्च्याएका उदाहरणको फेहरिस्त छ, हामीसँग।
भारतमा सन् २०१४ पछि अभ्यासमा आएको (अ)पत्रकारिताको बाछिटाले हामीलाई पनि क्रमशः हान्दै छ। किनकि‚ यहाँ पनि पत्रकारितामा प्रश्नहरू हराउँदै छन्। प्रश्नको ठाउँ पत्रकारका निजी विचार, आग्रह/पूर्वाग्रहले लिंदै छन्।
प्रतिकूल समाचार प्रकाशन भएको विरोधमा एक उम्मेदवारका समर्थकबाट अनलाइनप्रति नकारात्मक टीकाटिप्पणी र फेसबूक पेज ‘अनलाइक’ गर्ने लहड चल्नु प्रविधि नियन्त्रित पत्रकारिताको उदाहरण हो। तर‚ प्रविधिलाई दोष दिनुको औचित्य छैन। किनकि‚ अनलाइन पत्रकारिता (जुन प्रविधिकै उपज हो) लाई व्यापक अर्थमा नागरिक पत्रकारिताकै मर्यादित स्वरूप भन्न सकिन्छ। यसले समाचार उत्पादन, वितरण र उपभोग तीनै कुरामा नागरिक सहभागिता सुनिश्चित गरेको छ। पाठकले तत्कालै प्रतिक्रिया दिन सक्ने, समाचार कक्षले प्रकाशित समाचारका गल्ती सुधार्न सक्ने र समाचारको विषय अनुसारका विकसित घटनाक्रम अद्यावधिक गरिरहन पाइने भएकाले अनलाइन पत्रकारिता रोचक छ। तर‚ समाचार कक्षले पाठकको भावना नस्वीकार्दा दुर्घटना हुन्छ। त्यसको क्षति समग्र पत्रकारिताले भोग्नुपर्छ। पत्रकारिता लक्षित कुनै घटना वा प्रसङ्ग संयोग जस्ता लागे पनि सम्पादक र समाचार कक्षका लागि तिनले गहन अर्थ बोकेका हुन्छन्।
अनलाइन समाचार कक्षले पाठकको भावना बुझ्छ/बुझ्दैन, यसको उत्तर समाचार कक्ष र सम्पादकसँग अवश्य हुनुपर्छ। एउटा सार्वजनिक छलफलमा नाम चलेको अनलाइनका सम्पादकले ‘छिनछिनमा समाचार छाप्नुपर्छ, कति समाचार त सम्पादकले के छापिंदै छ भन्ने छनक समेत नपाई पाठककहाँ पुग्छन्’ भने जसरी पत्रकारिता पाठकप्रति अनुत्तरदायी हुन सक्दैन।
पत्रकारले पाठकलाई सूचना दिइरहेको छ कि आफ्नो धारणा र पूर्वाग्रह लादिरहेको छ भन्ने छुट्याएर गरिने आलोचना वा बहिष्करणलाई व्यावसायिक पत्रकारितामाथिको प्रहार भन्नुअघि आफैंलाई प्रश्न गरौं– पाठक किन रिसायो? उसको रिसको कुनै अर्थ छ कि? ‘प्रविधि नियन्त्रित पत्रकारिता’ को दुहाइ दिंदै उपभोक्ताको असन्तुष्टिलाई भीड नियन्त्रित गतिविधि र हमला भनेर सञ्चार माध्यम पाठक र आलोचनात्मक समाजप्रतिको जवाफदेहीबाट उम्कन मिल्दैन।
पत्रकारका दलीय संगठनले अमुक दलविशेषको पक्ष लिनु नेपालमा नौलो होइन। चुनावको मुखमा दलको पक्षमा सामूहिक विज्ञप्ति निकाल्ने घटना पहिले पनि हुन्थ्यो, पछि पनि हुन्छ। किनकि‚ ती संगठनको निर्माण नै त्यही लक्ष्यले गरिएकोमा तिनका सदस्य, पदाधिकारी र नेता प्रष्ट छन्।
पत्रकारले पाठकलाई सूचना दिइरहेको छ कि आफ्नो धारणा र पूर्वाग्रह लादिरहेको छ भन्ने छुट्याएर गरिने आलोचना वा बहिष्करणलाई व्यावसायिक पत्रकारितामाथिको प्रहार भन्नुअघि आफैंलाई प्रश्न गरौं– पाठक किन रिसायो? उसको रिसको कुनै अर्थ छ कि?
उनीहरूको ध्येय नै पत्रकारिता मार्फत दलीय राजनीतिमा स्थापित हुने हो। आफूलाई व्यावसायिक भन्ने धेरै अगुवा पत्रकारले दलीय राजनीतिमा आफूलाई त्यसै गरी स्थापित गरेका छन् भने त्यसो नगर्नेले हल्ला गर्दैमा उनीहरू सुध्रिने होइनन्। पत्रकार महासंघको चुनाव जित्न राजनीतिक संगठन नभई हुँदैन। त्यसैले दलका कार्यकर्ता सदस्य रहँदैमा र नाममा प्रेस वा पत्रकारिता जोडिंदैमा तिनका कतिपय गतिविधिले सिङ्गो व्यावसायिक पत्रकारिता नै धरापमा पर्यो भन्न मिलिनहाल्ला कि?
हरेकजसो चुनावका मुखमा चर्चा हुन्छ– पत्रकारले दल वा तिनका कुनै नेता वा उम्मेदवारको पक्ष लिने कि नलिने? सीधा उत्तर हो, पत्रकारले पत्रकार मात्र भइरहने हो। थप प्रश्न आउँछ– पत्रकारले उसले प्रयोग गर्ने सामाजिक सञ्जालमा पनि पत्रकारिता नै गर्नुपर्छ त? त्यहाँ कुनै दलीय पक्षधरता हुनु हुन्न? धेरैजसोको उत्तर हुन्छ– हुनु हुन्न, पत्रकारले दलीय वा कुनै पनि स्वार्थमिश्रित पेशा–व्यवसायमा पक्षधरता लिनु हुन्न। त्यसो हो भने पत्रकार महासंघको पदाधिकारी बन्न अमुक दलको कार्यकर्ता हुने र चुनाव जित्ने सबैले आफूलाई व्यावसायिक पत्रकार भन्न छोडौं।
हामीकहाँ दलीय प्रतिनिधिको भूमिकामा उभिंदा पत्रकारले पत्रकारिता छोड्दैन। उसले पत्रकार आचारसंहिता मान्दैन। पत्रकारिताबाट अलग्गिएको घोषणा नगरी दलीय चुनावमा उठ्छ। जिते सांसद हुन्छ, हारे फेरि पत्रकार हुन लाज मान्दैन। पत्रकारकै रूपमा अरू व्यवसायमा पनि आबद्ध हुन्छ। अनि एक दिन स्वतन्त्र र व्यावसायिक पत्रकारले पाउने विभिन्न सम्मान तथा पुरस्कार थापिरहेको भेटिन्छ। उही व्यक्ति व्यावसायिक पत्रकारिताबारे धाराप्रवाह प्रवचन दिइरहेको हुन्छ। हामी तिनलाई किन प्रश्न गर्दैनौं? किन उल्टै तिनीहरूबाट प्रशिक्षित भइरहेछौं?
नेपाली पत्रकारितालाई जवाफदेह बनाऔं भनेर मात्र अब पुग्दैन। पत्रकारिता गर्दाका कमीकमजोरी तत्काल सुधार्नुपर्छ। पत्रकार वा सम्पादकले पाठकलाई सार्वजनिक रूपमै जवाफ दिन सक्नुपर्छ। गल्ती नदोहोर्याउन गरिने प्रतिबद्धताले पेशाप्रति जिम्मेवार र पाठकप्रति जवाफदेह बनाउँछ।
पत्रकारितामा समाचार कक्षको अभिन्न अङ्ग बन्नुपर्छ, तथ्य जाँच। पत्रकारिता क्षेत्रको लगानी र सम्पादकहरूको ध्यान त्यसतर्फ हुनुपर्छ। आफैंले तथ्यजाँच गर्न नसक्दा समाचार कक्ष वा सम्पादकले तथ्य जाँच गर्ने/गराउने तेस्रो पक्षको प्रयासलाई स्वागत गर्नुपर्छ। तथ्य जाँचको विधि र प्रक्रियामा पारदर्शिता र व्यावसायिकता खोज्नुपर्छ। कागले कान लग्यो भन्दैमा कानै नछामी काग खेद्ने उखान र समाचार कक्षले तथ्य जाँचमा गर्ने हेलचेक्र्याइँ मेल खान्छन्। यस्तो प्रवृत्ति मौलाउँदा पत्रकारिता मजाकको विषय बन्न पुग्छ भने पत्रकारले पाठकको विश्वसनीयता गुमाउँछ; पाठकलाई सुसूचित गर्नुपर्ने न्यूनतम दायित्वबाट समेत विमुख भइन्छ।
अब नेपाली पत्रकारितालाई जवाफदेह बनाऔं भनेर मात्र अब पुग्दैन। पत्रकारिता गर्दाका कमीकमजोरी तत्काल सुधार्नुपर्छ। पत्रकार वा सम्पादकले पाठकलाई सार्वजनिक रूपमै जवाफ दिन सक्नुपर्छ।
हिजोआज तथ्य वा अङ्कले बन्ने समाचारमा धारणा घुसाउने प्रवृत्ति नजानिंदो पाराले फस्टाउँदो छ‚ जसले पत्रकारितालाई अल्छी लाग्दो र कम रुचिको बनाइदिएको छ। सामाजिक सञ्जाल हो कि पत्रकारिता, पाठकलाई छुट्याउन मुश्किल छ। पत्रकारिताका गुरु रामकृष्ण रेग्मीले भने जस्तै सामाजिक सञ्जाल अप्रशोधित सूचनाहरूको सँगालो हो। पत्रकारिता सामाजिक सञ्जाल हुन मिल्दैन। रेग्मीका अनुसार, नियतवश उत्पादित सामग्रीको तथ्य जाँच नगरिंदा र सामाजिक सञ्जालबाट प्रभावित हुँदा पत्रकारिताले विश्वसनीयता गुमाउँदै छ।
वातावरण, स्वास्थ्य वा आर्थिक जस्तो विधागत हुँदैन, तथ्याङ्क पत्रकारिता। यसलाई सूचना वा समाचार प्रस्तुतिको एउटा तरीका मात्र ठान्ने हो भने कसैले तथ्याङ्क पत्रकारिता गर्छु भन्नै पर्दैन। सार्वजनिक मञ्चमा न्यूयोर्क टाइम्स वा अन्य सन्दर्भ, तिनले गरेका राम्रा कामको उदाहरण दिंदै गर्दा सामान्य तथ्य र सूचना पस्किने क्रममा आफ्नैमा भएका मानवीय त्रुटि नदेख्नु, पाठक वा उपभोक्ताले तिनलाई औंल्याइदिंदा स्याबासी दिनुको साटो उल्टो ‘माछालाई पौडिन नसिकाऊ’ भनिनु र सामाजिक सञ्जालमा ‘ब्लक’ गरिनुले न पत्रकारिता व्यावसायिक हुन्छ न त त्यसबाट नयाँ पिढीले व्यावसायिकता सिक्न सक्छ।
त्यसैले सूचना र तथ्यका आधारमा प्रश्न गरौं। कसैलाई प्रश्न गर्नुअघि आग्रह/पूर्वाग्रह, द्वेष, घृणा र आवेश थन्क्याउनुपर्ने रवीश कुमारको भनाइ व्यवहारमा नउतारे राजमार्गमा हिंडिरहेको हाम्रो पत्रकारिता भीरमा पुग्नेछ।
रवीशकुमार भन्छन्, “जब बहुलवाद, बहुविचार र विविधतालाई सस्तो लोकप्रियताले गाँज्न थाल्छ, प्रश्न गर्नेहरू डराउन थाल्छन्। सार्थक संवादको ठाउँ नीति-नियम र कानूनको दुहाइ दिंदै एकतर्फी रूपमा लादिने विचार र व्यवहारले लिन थाल्छ। अहिले संसारका धेरै देशमा यस्तै भइरहेछ। चूप बस्न कठिन छ। तर‚ निर्धक्क बोल्न झन् कठिन हुँदै छ। जनमत जडमत बन्न थाल्छ। सूचना र तथ्यको सट्टा धारणा र पूर्वाग्रहले भरिपूर्ण कुण्ठाले ठाउँ पाउँछ।”
नेपालमा यस्तो हुन नदिन नियमित संवाद गरौं। पत्रकारितालाई राजमार्गमै गुडाइरहने कि भीरमा पुर्याउने, विकल्प सम्पादकहरूकै।