भरतपुरमा ३९ हजार मतगणना, कसको कति?
भरतपुर महानगरपालिकामा झण्डै एक तिहाइ मतगणना हुँदा गठबन्धनकी उम्मेदवार रेणु दाहालले अग्रता फराकिलो बनाएकी छन्।
बिहीबार बिहान साढे १० बजेसम्म ३९ हजार ९६१ मतगणना भएको छ। मेयरमा नेकपा (माओवादी केन्द्र) की दाहालले १५ हजार १३४ मत पाएकी छन्।
उनका प्रतिस्पर्धी नेकपा (एमाले) का विजय सुवेदीले १२ हजार ७७ मत पाएका छन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल ६ हजार २५३ मत सहित तेस्रो नम्बरमा छन्।
यस्तै, उपमेयरमा पनि गठबन्धनका उम्मेदवार अगाडि छन्। नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १७ हजार ५३५ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले नौ हजार ७३२ मत पाएकी छन्।
अहिलेसम्म वडा नं. १, २, ३, ४, ५, ६, ७ र ८ को मतगणना सकिएको छ। अहिले वडा नं. ९ र १० को मतगणना भइरहेको छ। भरतपुरमा एक लाख २७ हजार ५६६ मत खसेको थियो।