प्रधानमन्त्री देउवाको गृहजिल्लामा एमाले क्लीन स्वीप
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेकपा (एमाले) सबै स्थानीय तहमा पराजित भएको छ।
सात वटा स्थानीय तह रहेको डडेल्धुराका पाँचमा नेपाली कांग्रेस र दुईमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ। अघिल्लो चुनावमा कांग्रेसले चार‚ एमालेले दुई र माओवादीले एक स्थानीय तह जितेका थिए।
जिल्ला सदरमुकामको अमरगढी नगरपालिकामा कांग्रेसका नगर प्रमुख डिल्लीराज जोशी, उपप्रमुख पार्वती झुकाल सहित १० वडा अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
यस्तै‚ भित्री मधेशको परशुराम नगरपालिकामा कांग्रेसका भरत बडायर जोशी तथा उपप्रमुखमा माओवादी केन्द्रकी विमला महता निर्वाचित भएका छन्। यस नगरपालिकाका वडाहरूमा पनि कांग्रेसको सहज जित भएको छ।
कांग्रेसले गन्यापधुरा, नवदुर्गा र भागेश्वर गाउँपालिका पनि जितेको छ। यहाँका आलिताल र अजयमेरु गाउँपालिकामा नेकपा (माआवादी केन्द्र) ले जितेको छ। उता अजयमेरु गाउँपालिकाको उपाध्यक्षमा पनि कांग्रेसकी वशन्ती पाल विजयी भएकी छिन्।
कांग्रेसले ५२ वडामध्ये २९ वडामा विजय प्राप्त गरेको छ भने माओवादी १४, एमालेले तीन, नेकपा (एकीकृत समाजवादी) दुई, नेपाली कांग्रेस (बीपी) दुई र स्वतन्त्रले दुई वडा जितेका छन्। २०७४ सालको निर्वाचनमा कांग्रेसले यहाँका १६ वडा‚ एमालेले २० वडा र माओवादी केन्द्रले १६ वडा जितेको थियो।
अघिल्लो चुनावमा अमरगढी नगरपालिकामा पाँच वडा मात्रै जितेको कांग्रेसले अहिले प्रमुख-उपप्रमुख सहित १० वडामा विजय हात पारेको छ। अघिल्लो चुनावमा अमरगढीका प्रमुख र उपप्रमुख सहित ६ वडाअध्यक्ष जितेको एमाले अहिले शून्यमा झरेको छ।
त्यसै गरी अघिल्लो चुनावमा परशुराममा प्रमुख र उपप्रमुख सहित तीन वडा मात्रै जितेको कांग्रेसले अहिले सम्पन्न स्थानीय निर्वाचनमा पालिका प्रमुख सहित पाँच वडा जितेको छ।
गन्यापधुरामा पनि पहिले कांग्रेसले तीन वडा र अध्यक्ष-उपाध्यक्ष जितेको थियो, तर अहिले एक वडा बाहेक पालिकाका सबै स्थानमा विजय हासिल गरेको छ। यो प्रधानमन्त्री देउवाको पालिका हो।
अघिल्लो निर्वाचनमा नवदुर्गा गाउँपालिका अध्यक्ष-उपाध्यक्ष सहित दुई वडा मात्रै जितेको कांग्रेसले अहिले अध्यक्ष-उपाध्यक्ष सहित थप दुई वडा जितेको छ र बाँकी तीन वडामा (एकीकृत समाजवादी) ले दुई र माओवादीले एक वडामा जित हासिल गरेका छन्।
भागेश्वर गाउँपालिकामा अघिल्लो निर्वाचनमा अध्यक्ष-उपाध्यक्ष मात्रै जितेको कांग्रेसले अहिले पालिका सहित चार वडामा जित हासिल गरेको छ। त्यसै गरी यसअघि भागेश्वरमा एमालेले चार र माओवादीले एक वडा जितेकामा अहिले चार वडामा नै कांग्रेसले जित हासिल गरेको छ। अर्को एकमा स्वतन्त्र उम्मेदवारले जितेका छन्। -रासस