हलेसी तुवाचुङमा कांग्रेस विजयी
खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। मेयरमा विमला राई र उपमेयरमा रमेश राउत विजयी भएका हुन्।
बुधबार राति सार्वजनिक अन्तिम परिणाम अनुसार‚ विमलाले नेकपा (एमाले) का उम्मेदवार खडेन्द्र राईलाई ३५१ मतान्तरले पराजित गरेकी हुन्। विमलाले ६ हजार ३१७ र खडेन्द्रले पाँच हजार ९६६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यसअघि उपमेयर रहेकी विमला यस पटक मेयरमा निर्वाचित भएकी हुन्। खडेन्द्र अघिल्लो निर्वाचनमा पनि मेयरमा कांग्रेसका इवन राईसँग पराजित भएका थिए। नेकपा (माओवादी केन्द्र) बाट मेयरकी उम्मेदवार रुसिका राईले १०२ मत प्राप्त गरेकी छिन्।
उपमेयरमा निर्वाचित राउतले पाँच हजार ९३४ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका अमेम्बर राईले पाँच हजार ६६१ मत प्राप्त गरेका छन्। राउत यसअघि वडाध्यक्ष थिए। एमालेबाट उपमेयरकी उम्मेदवार तुलसा बुढाथोकीले ५७० मत पाएकी छिन्।
मुलुकभर एमाले बाहेकको गठबन्धन हुँदा हलेसी तुवाचुङमा भने एमाले र माओवादी केन्द्रको अघोषित चुनावी तालमेल भएको बताइएको छ।