गणेश थापालाई फिफाको चेतावनी
अखिल नेपाल फूटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापालाई फूटबलका कुनै पनि गतिविधिमा संलग्न नहुन विश्व फूटबलको सर्वोच्च निकाय फिफाले चेतावनी दिएको छ।
फिफाले प्रतिबन्धमा रहेका थापालाई फूटबल गतिविधिमा सामेल नहुन चेतावनी सहितको पत्र काटेको एन्फाले जनाएको छ। एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई लेखेको पत्रमा पूर्व अध्यक्ष थापामाथि लगाइएको प्रतिबन्धबारे स्मरण गराएको एन्फाको अफिसियल वेबसाइटमा उल्लेख छ।
"जबसम्म प्रतिबन्ध कायम रहन्छ, एन्फा र यसका सदस्यले गणेश थापालाई राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरको (प्रशासनिक, खेलकूद वा अन्य) कुनै पनि प्रकारको फूटबल सम्बन्धी गतिविधिमा संलग्न हुन जानीजानी अनुमति नदिने अपेक्षा गर्दछौं," फिफाको पत्रलाई उद्धृत गर्दै एन्फाले लेखेको छ।
त्यस्तै, थापाले फिफाको निर्णय उल्लंघन गरेमा थप कारबाहीका लागि फिफा अनुशासन समितिमा रिपोर्ट गर्न एन्फालाई निर्देशन दिएको एन्फाले जनाएको छ। थापाले गत बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले आफ्नो चरित्रहत्या गरेको आरोप लगाएका थिए।
भ्रष्टाचारको आरोपमा २०७२ सालको कात्तिकमा फिफाले थापालाई सबैखाले फूटबल गतिविधिबाट १० वर्षका लागि प्रतिबन्ध लगाएको थियो। प्रतिबन्ध सहित उनीमाथि २० हजार स्वीस फ्रयांक (करीब २१ लाख रुपैयाँ) जरिवाना गरेको थियो। थापामाथि फिफाले सन् २०११ मा भएको फिफाको निर्वाचन र सन् २००९ मा एएफसी कंग्रेसमा घूस लिएको आरोप लगाएको थियो।