‘मतगणना धेरै बाँकी छ, ठोकुवा गरेर जित मेरै हो भन्दिनँ’
‘मेरो हार होस् वा जित, समाजका लागि काम गर्न छोड्ने छैन। समाज, देश बनाउन कसैले केही न केही त गर्नैपर्छ।’
दोस्रो पटक धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मदेवार बनेका गोपाल हमाल प्रतिस्पर्धीभन्दा दोब्बर मतले अगाडि छन्। बुधबार साँझसम्म २६ हजार ४१९ मतगणना हुँदा उनले ४६ प्रतिशत अर्थात १२ हजार ३०४ मत पाएका छन्। धनगढीमा ६३ हजार ७१५ मत खसेको छ। समसामयिक विषयमा हमालसँग हिमालखबरका लागि अनिता भेटवालले गरेको संवाद:
धनगढी उपमहानगरको मतगणना चलिरहँदा दोब्बरभन्दा बढी मतले अगाडि हुनुहुन्छ। अब त जित्छु भन्ने लागेको होला?
यो क्षणलाई स्वाभाविक रूपमा लिएको छु। दुई दिनअघि डा.चेतराज पन्तले तिमी हार्छौ वा जित्छौ थाहा छैन, तर असली कुरा तिमीले चुनाव जितिसकेका छौ भन्नुभयो। त्यसो भन्नुको तात्पर्य, यो भेग वा त्यो भेगको मान्छे, यो जात वा त्यो जात भनेर पार्टीहरूको आफ्नो क्लस्टर छ, तर मेरो त केही छैन। मलाई थारू, चौधरी, राना, मधेशी, पहाडी सबै समुदायले भोट हाले। बाहुन, क्षेत्री, दलित, मुस्लिम सबैले पत्याए। त्यसैले डा. पन्तले तिमी साझा हुन सक्यौ भनेर बधाई दिनुभयो। मैले पनि यसैलाई ठूलो उपलब्धि मानेको छु।
र, अब मलाई पनि आम जनताले गरेको विश्वासको इज्जत राख्न वास्तविक स्थानीय तह कस्तो हुन्छ भन्ने अनुभूति गराउनु छ। कुनै पार्टीले जित्दा त्यो पार्टीका भोटर र शुभचिन्तकले जित्थे भने मैले धनगढीलाई जिताउनु छ भन्ने लागेको छ। जित-हारभन्दा पनि जनताले तिरेको करको भार तिर्न विकास र सुविधा दिएर काम गर्न सकूँ भन्ने लागेको छ।
पाँच वर्षअघि पराजित हुनुभएको थियो। अहिले शुरूआतदेखि नै ४०-४५ प्रतिशत मत पाइराख्नुभएको छ। यति धेरै मत पाउने आधार कसरी बनाउनुभयो?
अघिल्लो पटक पनि धेरै मत बदर भएर हारेको हुँ। त्यस वेला चुनाव चिह्न बुझाउन नभ्याउँदै चुनाव लाग्यो। तर, मतको आधार भनेको विगत ३८ वर्षदेखि व्यवसायी र समाजसेवी भएर काम गरेको परिणाम हो। हाम्रो समूह नै सुदूरपश्चिमको सबैभन्दा ठूलो रोजगारदाता हो। यो भनेर हामी पैसाको पछि मात्र लागेका छैनौं। सामाजिक क्षेत्रमा र सुदूरपश्चिमलाई ब्रान्डिङ गरेर विकास गर्ने कामका ‘सुन्दर सुदूरपश्चिम’ अभियानदेखि आम मानिसको चुलोचौकाको समस्या निराकरण गर्न सक्ने काम गरेका छौं।
सुदूरपश्चिमका ‘गेम चेन्जर’ आयोजना बनाउनेदेखि धनगढी विमानस्थललाई समुदायसँगको सहकार्यमा बनाउन चन्दा अभियान चलाउने लगायत काम गर्यौं। आम मानिसको दुःखसुखमा पनि सँगसँगै थियौं। एक वर्षदेखि महाप्रस्थान अभियान चलाएका थियौं। ३० लाखमा गाडी किनेर, ड्राइभर राखेर, विना शुल्क घरदेखि ससम्मान घाटसम्म पुर्याउने काम गरेका छौं।
आगलागी, पहिरो जाँदा विभिन्न स्थानमा कपडा ब्यांकबाट कपडा पुर्याउने काम गर्यौं। यो जोसँग छैन, उसले नाङ्गो शरीर हिंड्नु पर्दैन भनेर थालेको अभियान थियो। कोरोना कालमा आफ्नै गाडी पनि जनताको उपचारमा सदुपयोग गर्यौं। यो भनेको पनि धनगढीप्रति निभाएको कर्तव्य नै हो।
भ्रष्ट राजनीतिलाई कसरी कल्याणकारी राजनीति बनाउने भन्ने मुख्य उद्देश्यले लागिरहेका छौं। जनताले पनि हामीले आफ्नो पैसाले त यति गर्न सक्यौं भने मेयर भए देशको बजेटबाट कति काम गर्न सक्ला भनेर आश देखाएर दिएको मत हो। विगतमा गरेका काम र अझै कल्याणकारी काम गर्न सक्छ भन्ने जनताले बुझेको देख्छु। त्यसैले त पार्टी, समुदाय र वर्गभन्दा माथि उठेर मलाई भोट गर्नेहरू धेरै हुनुहुन्छ। त्यो मतमा पनि देखिइरहेको छ।
तपाईंले विवेकशील साझा पार्टी छोड्नुभयो। कतिपयले पार्टीमै रहेको भए गाेपाल हमालले यत्राे भाेट पाउँदैनथे भन्ने टिप्पणी गर्छन्। तपाईंलाई के लाग्छ?
खासमा एउटा भित्री कुरा छ। मैले सात महीनाअघि सबै वडामा मत सर्वेक्षण गरेको थिएँ। त्यो सर्वेक्षणले मलाई स्वतन्त्र उम्मेदवार बनेमा रुचाउने देखियो। धेरैले स्वतन्त्र उम्मेदवार उठेमा मत दिन पनि बताएका थिए। पार्टीको भन्दा पनि साझा व्यक्ति नै हुनुपर्छ भन्ने अभिमत आयो। यति हुँदाहुँदै मैले अरू निर्णय गर्ने कुरै थिएन।
मलाई कांग्रेस, एमाले लगायत सबै दलले टिकट नदिएका हैनन्। तर, पार्टीमा गएपछि पार्टीका अजेन्डा, स्वार्थ, कार्यकर्ताको चाहनामा काम गर्नुपर्छ। अब अहिले स्वतन्त्र हुँदा मत त आयो नै, अर्को पनि फाइदा भयो। मैले कुनै पार्टीलाई जवाफ दिनुपरेको छैन। बरू धनगढीका जनतलाई जवाफ दिन्छु। त्यस कारण पनि विना बाधा राम्रोसँग काम गर्छु भन्ने लागेको छ।
म कसरी उठूँ भनेर सोध्दा धनगढीका जनताले ‘तँ स्वतन्त्र नै उठ्’ भन्ने जवाफ दिए। अनि म स्वतन्त्र उठेको हुँ। मलाई जनताले पार्टीबाट नउठ भनेपछि मैले त्यसै गरें। मलाई हरेक समुदायले स्वतन्त्र उठ भन्नुको अर्थ यो मान्छेले सबैलाई जोड्न सक्छ र काम गर्न सक्छ भन्ने विश्वास हो। म यो विश्वास कसरी तोड्न सक्थें र! अब जित र हार त चाँडै देखिएला, तर अहिले आइरहेको मत परिणामबाट सन्तुष्ट छु।
चुनाव जितेपछि पहिलो काम के गर्छु भन्ने सोच्नुभएको छ?
अहिले नै घोषणा गरेको त छैन, तर हामीले योजना बनाइसकेका छौं। मेरो पहिलो काम, स्त्रीरोग विशेषज्ञ र ‘जनरल फिजिसियन’ को एक-एक वटा टोली बनाएर धनगढीमा १९ वटै वडामा प्रत्येक महीना स्वास्थ्य शिविर चलाएर स्वास्थ्य सेवा दिने हुनेछ। यही कामबाट शुरूआत गर्नेछु। धनगढीमा हरेक वर्ग र अवस्था भएका व्यक्तिको स्वास्थ्यमा पहुँच पुर्याउने मेरो लक्ष्य हुनेछ।
म मेयरमा निर्वाचित भए भने गाडी सुविधा, मासिक तलबभत्ता लिन्नँ, त्यो पैसा स्वास्थ्य क्षेत्रमा खर्च गर्नेछु। आफ्नो खर्च आफैं धान्न सक्ने ल्याकत धनगढीले दिएको छ। त्यसैले मेयरले पाउने कुनै पनि सरकारी सुविधा लिन्नँ भनेको हुँ।
अबको पाँच वर्ष मेरो जीवन धनगढीलाई समर्पण गरिसकेको छु। ‘जिना यहाँ, मर्ना यहाँ’ भने जस्तै धनगढीलाई उत्कृष्ट बनाउनु बाहेक मेरो जाने ठाउँ छैन। मैले भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचारलाई शून्यमा झार्छु भनेर कसम खाएको छु। धनगढीको प्रसिद्ध धाम बेहडा बाबाको मन्दिरमा गएर सङ्कल्प गरेको छु। मैले एक रुपैयाँ खाएँ भने मेरो नाश होस् भनेर कसम खाएको छु।
जनतालाई सहज हुने काम गर्ने बाहेक मेरो प्रण भनेको भ्रष्ट राजनीतिलाई कल्याणकारी राजनीति बनाउने नै हो। यससँगै आवश्यक भौतिक पूर्वधार पनि बनाउने काम त गर्छौं नै।
एक्लो स्वतन्त्र उम्मेदारले राम्ररी काम गर्न सक्दैन भन्ने गरिन्छ। यस्तो चुनौती देख्नुभएको छैन?
मेयर कहिल्यै एक्लो हुँदैन। राम्रो काम गर्न प्यानल चाहिंदैन। काम गर्नलाई अरूको पनि साथ र समर्थन चाहिएला, तर तपाईंसँग गतिलो योजना र कार्यक्रम भए कसैले रोक्न सक्दैन। जस्तो- मैले जितें भने सबै वार्डमा स्वास्थ्य शिविर राख्छु भनेको छु। अब वार्डका अध्यक्षहरूले मलाई समर्थन नगरेर हुन्छ? यस्ता काम गर्न भोलि वार्डहरूले सहयोग नगरे आफ्नै पैसाले पनि काम गराउँछु। मैले नचढ्ने भनेको मेयरको गाडी त्यही उपचार गराउन प्रयोग गर्नेछु।
काम गर्ने मनसाय भएपछि जसरी पनि गर्न सकिन्छ। तर, गुनासो मात्र थोपरेर बस्दा त प्लानल नै आए पनि काम गर्न कहाँ सकेका छन् र! त्यसैले म अहिले प्यानल छैन भनेर केही भन्दिनँ। मैले जितें भने एक महीनापछि फोन गर्नुहोला, त्यति वेला तपाईंलाई धनगढीको अवस्था कस्तो थियो र कस्तो छ भनेर बताउनेछु। काम गर्ने मान्छेलाई कुनै कुराको बाधा हुँदैन, यति बुझिदिनुस्।
अब जितिन्छ भन्ने नै निष्कर्षमा पुग्नुभएको हो कि नतीजा जे पनि आउन सक्छ भन्ने डर छ?
मतगणना गर्न अझै धेरै बाँकी छ। यो तलाउमा कति माछा छन् भन्ने कुरा कसैलाई थाहा हुँदैन। त्यसैले म अरू दल जस्तो ठोकुवा गरेर जित मेरै हो भन्दिनँ। तैपनि मेरो स्पष्ट भिजन छ। म यतिका वर्ष समाज बनाउनुपर्छ भनेर लागें। भोलि यसको फाइदा हाम्रै छोरा, नाति र समुदायले नै पाउने हुन् भन्ने लागेर काम गरेको छु। मेरो हार होस् वा जित, समाजका लागि काम गर्न छोड्नेछैन। समाज, देश बनाउन कसैले केही न केही त गर्नैपर्छ।
भ्रष्टाचार अन्त्य र सुन्दर नगरी बनाउने अभियान सुदूरपश्चिमबाट शुरू भइसकेको छ। यो हामीले नै शुरूआत गरेका हौं। अब जस्तो नतीजा आए पनि यो अभियान रोकिन्न। यस्तो अभियानको झिल्कोले भ्रष्टाचारलाई जरैदेखि उखेलेर विकासको आगो बाल्ने काम गर्नेछ। म यो काममा सधैं लाग्नेछु।
चुनावी नतीजा जे आए पनि धनगढीको मेयरमा अर्को पटक उम्मेदवार बन्दिनँ भन्नुभएको छ नि?
बिल्कुल, अर्को पटक उम्मेदवार बन्दिनँ। मैले यसलाई पाँच वर्षको काम गर्ने अभियानका रूपमा लिएको छु। पाँच वर्षसम्म यो अभियानमा सामेल हुनेछु। त्यसपछि ‘ब्याक’ हुनेछु।