सेना परिचालनपछि धरानमा मतगणना शुरू
धरान उपमहानगरपालिकामा नेकपा (माओवादी केन्द्र) को आन्दोलन जारी रहे पनि कडा सुरक्षाबीच मतगणना शुरू भएको छ।
मतगणना स्थलमा प्रहरीसँग नेपाली सेना पनि परिचालन गरिएको छ। विवादमा परेको वडा नं. २० को विषयमा सहमति गर्ने जिम्मा मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई दिइएको छ।
माओवादी कार्यकर्ताले भने पुनः मतदान हुनुपर्ने र लापरवाही गर्ने कर्मचारीलाई कारबाही हुनुपर्ने माग गर्दै प्रदर्शन जारी राखेका छन्। नेपाली कांग्रेसका कार्यकर्ता पनि धरान-२० को मत परिणाम घोषणा गर्न माग गर्दै आन्दोलन गरिरहेका छन्।
धरान-२० मा १८ वटा मतपत्रमा अधिकृतको हस्ताक्षर नभएको भेटिएपछि विवाद भएको थियो। त्यसमध्ये १३ वटा मतपत्रमा माओवादीका उम्मेदवारलाई मत दिइएको माओवादीको दाबी छ।
यो वडामा माओवादीका उम्मेदवार कांग्रेसका उम्मेदवारसँग चार मतले पराजित भएपछि माओवादी कार्यकर्ता आन्दोलनमा उत्रिएका हुन्। विवाद उत्पन्न भएपछि मत परिणाम भने घोषणा गरिएको छैन।
अहिले धरान उपमहानगरपालिका वडा नं. ८, १२ र १९ को मतगणना भइरहेको छ।