मधेशमा कस्तो छ मधेश केन्द्रित दलको अवस्था?
मधेश प्रदेशका महानगरपालिका र उपमहानगरपालिकामा मात्रै हाेइन, नगरपालिका र गाउँपालिकामा पनि मधेश केन्द्रीत दलहरू कमजोर देखिएका छन्।
मधेशका एक महानगर र तीन उपमहानगरको प्रारम्भिक मतगणनामा वडादेखि मेयरसम्म मधेश केन्द्रित दलको अवस्था कमजोर देखिएको हो। वीरगञ्ज महानगरमा जनता समाजवादी पार्टी (जसपा) का मेयरका उम्मेदवारले अग्रता लिइरहेको भए पनि उपमहानगरमा भने मधेश केन्द्रित दल पछाडि छन्।
वीरगञ्जमा पाँच दलीय गठबन्धनबाट जसपाका उम्मेदवार राजेशमान सिंहले ११ हजार ९९५ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार विजय सरावगीले पाँच हजार ६३५ मत पाएका छन्। त्यस्तै, राप्रपाका उम्मेदवार गिरीश गिरीले ४५९ मत पाएका छन्।
उपमेयरमा नेपाली कांग्रेसका इम्तियार आलमले आठ हजार ४२२ मत सहित अग्रता कायम राखेका छन्। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का पुरुषोत्तमलाल झाले एक हजार ४०७ मत पाएका छन्। स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले ९७१ र राप्रपाकी विना जयसवालले ७६० मत पाएका छन्। अहिलेसम्म वडा नं १, २, ३, ४, ५, ६, २९, ३०, ३१ र ३२ को मतगणना सकिएको छ।
मधेशको राजधानी समेत रहेको जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेका छन्। पाँच दलीय गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार जसपाका लालकिशोर साह पाँचौं स्थानमा छन्।
मेयरमा स्वतन्त्र उम्मेदवार मनोज साहले चार हजार ७३, एमालेका शिवशंकर साहले दुई हजार १७८, स्वतन्त्र उम्मेदवार बलराम महतोले एक हजार २१०, लोसपाका मनोज चौधरीले एक हजार २२३ र जसपाका लालकिशोरले ९१८ मत पाएका छन्।
उपमेयरमा कांग्रेसका किशोरी साहले शुरूआतदेखि नै अग्रता लिएका छन्। उनले चार हजार ३४८ मत पाएका छन् भने एमालेका रुना झाले दुई हजार ३३५ मतका साथ पछ्याइरहेकी छन्।
कुल २५ वडा रहेको जनकपुरधाम उपमहानगरमा अहिलेसम्म सात वडाको मतगणना सकिएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए। जजमा वडा नं १ मा कांग्रेसका दीपनारायण यादव (देवु), वडा नं २ मा कांग्रेसकै शिवकुमार साह, वडा नं ३ मा तमलोपाका दीपेन्द्रकुमार साह, वडा नं ४ मा कांग्रेसका सुरेश झा, वडा नं ५ मा एमालेका बेचन साह हलुवाई, वडा नं ६ मा कांग्रेसका दिनेश्वर साह र वडा नं २५ मा कांग्रेसकै चन्देश्वर साह निर्वाचित भएका छन्।
त्यस्तै, जितपुर सिमरा उपमहानगरमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवारले अग्रता लिइरहेका छन्। माओवादीका राजन पौडेलले १५ हजार ३९५ मत पाएका छन् भने एमालेकी सरस्वती चौधरीले १४ हजार १३५ मत पाएकी छन्। लोसपाका सञ्जयकुमार साह पाँच हजार १८८ मत सहित तेस्रो स्थानमा छन्।
कलैया उपमहानगरमा पनि मधेश केन्द्रित दलले अग्रता लिन सकेका छैनन्। मेयरमा एमालेका विनोदप्रसाद साह ११ हजार ३२१ मतका साथ अग्रस्थानमा छन् भने कांग्रेसका राजेश राय यादवले आठ हजार ६५९ मत सहित पछ्याइरहेका छन्। तेस्रो स्थानमा रहेको लोसपाका जयप्रकाश साह तेलीले ४२१ मत पाएका छन्।
उपमेयरमा पनि एमालेकी रौशन परविन नौ हजार ३४७ मत सहित अग्रस्थानमा छिन्। दोस्रो स्थानमा रहेका जसपाका प्रमोदप्रसाद गुप्ताले आठ १५४ मत पाएका छन् भने लोसपाका नासरिन नाजले ४७३ मत पाएका छन्।
अन्य नगरपालिका र गाउँपालिकामा पनि मधेश केन्द्रित दल कमजोर नै देखिएका छन्। धेरैजसो स्थानमा मधेश केन्द्रित दलका उम्मेदवार तेस्रो तथा चौथो स्थानमा रहेका छन्।
तमलोपाले खोल्यो खाता
चुनावभन्दा एक महीनाअघि गठन भएको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) ले महोत्तरीको महोत्तरी गाउँपालिका अध्यक्षमा जित हासिल गरेको छ। तमलोपाका दीपक पाण्डेय दुई हजार ३३६ मत ल्याएर अध्यक्षमा निर्वाचित भए। उनका प्रतिस्पर्धी जसपाका अजय रायले दुई हजार २०८ मत पाए।
उपाध्यक्षमा जसपाकी दिपोदेवी पासवान निर्वाचित भएकी छन्। उनले दुई हजार ६४ मत पाइन् भने तमलोपाकी ललितादेवी साहले एक हजार ९९१ मत पाइन्।