मेयरका उम्मेदवारमाथि कुटपिट भएको केन्द्रमा पुन: मतदान हुँदै
मेयरका उम्मेदवारमाथि कुटपिट गरिएको तनहुँको व्यास नगरपालिका-८ रिस्तीस्थित मतदान केन्द्रमा आज पुन: मतदान भइरहेको छ।
मतदानका लागि सुरक्षा व्यवस्था कडा बनाइएको छ। शान्तिपूर्ण रूपमा मतदान गर्ने वातावरण बनाइएको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुंगानाले बताए।
यसअघि वैशाख ३० गते मतदानका दिन स्वतन्त्र उम्मेदवार दीपकराज जोशीमाथि आक्रमण भएको थियो। मतदान केन्द्रमा पुगेका जोशीमाथि नेपाली कांग्रेसका कार्यकर्ताले कुटपिट गरेका थिए।
उनलाई कांग्रेस कार्यकर्ताले मतपत्र च्यातेको आरोपमा कुटपिट गरेको तनहुँ प्रहरीले जनाएको थियो। उनको टाउकोमा चोट लागेको छ भने अहिले काठमाडौंमा उपचार गराइरहेका छन्।
यो मतदान स्थलको ‘क’ केन्द्रमा ७५६ र ‘ख’ मा ८२० मतदाता रहेका छन्।