लेटाङ नगरपालिकामा एमाले उम्मेदवार निर्वाचित
मोरङको लेटाङ नगरपालिकाको मेयर र उपमेयरमा नेकपा (एमाले) का उम्मेदवार निर्वाचित भएका छन्।
योसँगै मोरङमा मतगणना सम्पन्न चार स्थानीय तहमध्ये तीनमा एमाले र एकमा कांग्रेसले जितेका छन्। लेटाङमा निर्वाचित भुपेन्द्रकुमार लावतीले प्रतिस्पर्धी कांग्रेसका ज्ञानेन्द्र ढकाललाई दुई हजार १९३ मतान्तरले पराजित गरेका हुन्। लावतीले १० हजार २५१ र ढकालले आठ हजार ५८ मत पाएका हुन्।
यस्तै, उपमेयरमा एमालेकी कृष्णकुमारी निरौला पोखरेलले चार हजार २७२ मतान्तरले जितेकी छन्। पोखरेलले नौ हजार ३८३ र माओवादीका कृष्णप्रसाद लम्सालले पाँच हजार १११ मत पाएका छन्। पोखरेल निवर्तमान उपमेयर हुन्।
२०७४ सालको निर्वाचनमा लेटाङको मेयरमा कांग्रेसले जितेको थियो। लेटाङका १, २, ३, ४, ५ र ७ वडामा एमालेले र तीन वडामा कांग्रेसले जितेका थिए।
मोरङका १७ स्थानीय तहमध्ये एक नगर र तीन गाउँपालिकाको मतगणना सम्पन्न भएको छ।