रसुवामा एक प्रतिशत मत बदर
रसुवामा अघिल्लो निर्वाचनको तुलनामा बदर मत सङ्ख्या घटेको छ।
वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा जिल्लाभर ३० हजार चार मत खसेकोमा ३१० वटा मत बदर भएको छ। यो १ दशमलव ०३ प्रतिशत हो। २०७४ सालको स्थानीय तह निर्वाचनमा २२ हजार ६८९ मत खसेकोमा १ हजार ६२८ मत बदर भएको थियो, जुन ७ दशमलव १७ प्रतिशत हो।
मतदाता शिक्षा कार्यक्रम सञ्चालन नभए पनि बदर मतको सङ्ख्या कम देखिएको जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाले बताए।
यस पटक आमाछोदिङ्मो गाउँपालिकामा ३२, उत्तरगयामा ३७, कालिकामा ३९, गोसाइँकुण्डमा १३ र नौकुण्डमा १८९ मत बदर भएको छ। आमाछोदिङ्मोमा पाँच हजार ६० मतदातामध्ये चार हजार २१४, उत्तरगयामा आठ हजार ४०२ मध्ये ६ हजार ५१६, कालिकामा आठ हजार ६५६ मध्ये ६ हजार ७७३, गोसाइँकुण्डमा पाँच हजार ८९० मध्ये चार हजार ७७३ र नौकुण्डमा १० हजार ५३७ मध्ये सात हजार ७२६ ले मतदान गरेका थिए।