देवी ज्ञवाली भन्छन्- भुइँकटहरले पाएकाे भोट एमालेलाई आउने थिएन
कतिपयले एमाले उम्मेदवार विजय सुवेदीलाई जाने कांग्रेसका असन्तुष्ट भोट जगन्नाथ पौडेलको भुइँकटहरमा गएको टिप्पणी गरिरहेका वेला अघिल्लो निर्वाचनमा एमालेबाट उम्मेदवारी दिएका देवी ज्ञवाली भन्छन्, “भुइँकटहरले पाएको भोट कांग्रेसकै हो, त्यो भोट एमालेमा आउने थिएन।”
भरतपुर महानगरपालिकाको मेयरमा ‘भुइँकटहर’ चुनाव चिह्न लिएका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले साढे चार हजारभन्दा बढी मत पाइसकेका छन्। मेयरमा नेकपा (माओवादी केन्द्र) की रेणु दाहाल र नेकपा (एमाले) का विजय सुवेदीबीच थोरै मतको अन्तर छ।
यस्तो वेला स्वतन्त्र उम्मेदवार पौडेलले पाएको भोटका विषयमा विभिन्न थरी आकलन भइरहेका छन्। कतिपयले एमाले उम्मेदवार सुवेदीलाई जाने कांग्रेसका असन्तुष्ट भोट भुइँकटहरमा गएको बताइरहेका छन्। कतिपय माओवादी उम्मेदवार दाहालले पाउने भोट भुइँकटहरले काटेको बताइरहेका छन्।
माओवादी उम्मेदवार दाहालसँग गत निर्वाचनमा २०३ मत (मतपत्र च्यातेर पुनः मतदानपछि) ले पराजित भएका देवी ज्ञवालीको विश्लेषण भने फरक छ। “अहिलेको मतको अवस्था पनि पहिलेको जस्तै छ,” ज्ञवालीले हिमालखबरसँग भने, “मेरो पुरानो अनुभवका आधारमा हेर्दा अहिले मतान्तर हुनु कुनै नौलो र आश्चर्यजनक होइन।”
अहिले भुइँकटहर चुनाव चिह्न भएका स्वतन्त्र उम्मेदवार पौडेलले पाएको भोट कांग्रेसकै भएको ज्ञवालीको भनाइ छ। “अहिले भुइँकटहरमा गएको भोट कांग्रेसकै हो। त्यो सबै हामीलाई आउने भोट थिएन,” ज्ञवालीले भने, “यदि त्यो भोट माओवादीलाई गएको भए धेरै ठूलो मतान्तर हुने थियो।”
अहिले माओवादी उम्मेदवार दाहालले अग्रता लिएकी छन्। उनलाई एमाले उम्मेदवार सुवेदीले पछ्याइरहेका छन्।
भरतपुरका २९ मध्ये ६ वटा वडाको मतगणना सकिएको छ। गणना भएका २७ हजार ४४८ मतमध्ये दाहाल एक हजार ७१२ मतले अगाडि छिन्। उनले नौ हजार ९७० मत पाएकी छन् भने एमालेका सुवेदीको आठ हजार २५८ मत छ।
भरतपुर-५ सम्मको नतीजा सार्वजनिक हुँदा दाहाल र सुवेदीबीच तीव्र प्रतिस्पर्धा थियो। वडा नं. ६ मा भने दाहालले धेरै मत पाएकी छन्। उनले दुई हजार ४९९ मत पाउँदा सुवेदीले एक हजार १६० मत पाएका छन्।
गत निर्वाचनमा एमाले उम्मेदवार ज्ञवालीले वडा नं. ६ सम्म गणना हुँदा माओवादी उम्मेदवार दाहालभन्दा ७९३ मत बढी ल्याएका थिए। ज्ञवालीले वडा नंं १, २, ३ र ५ मा बढी मत ल्याएका थिए। यो निर्वाचनमा एमाले उम्मेदवार सुवेदीले वडा नं. २ र ३ मा मात्र केही मत बढी ल्याएका छन्।
स्वतन्त्र उम्मेदवार पौडेलले वडा नं. १ मा ४३० मत पाए। जुन खसेको मतको १३.१२ प्रतिशत हो। उनले वडा नं. २ मा १०.२७ प्रतिशत, वडा नंं. ३ मा १९.९८ प्रतिशत, वडा नं. ४ मा २०.६ प्रतिशत र वडा नंं ५ मा १७.७४ प्रतिशत मत पाएका छन्। यसलाई हेर्दा कांग्रेसको पकड रहेको वडाबाट पौडेललाई राम्रो मत आएको देखिन्छ। अहिलेसम्म गणना भएका ६ वटै वडाबाट चार हजार ५०४ मत पाएका छन्।
गत निर्वाचनलाई आधार बनाउँदा भरतपुरमा सबभन्दा धेरै भोट कांग्रेसको छ। त्यसकै हाराहारीमा एमालेको र तेस्रोमा माओवादीको मत छ। त्यसैले कांग्रेसको मत तान्ने उम्मेदवार नै विजयी हुनेछन्। एमाले उम्मेदवारले कांग्रेसका असन्तुष्ट मत पनि पाउने विश्वास गरेका थिए, तर यस पटक त्यस्तो मत स्वतन्त्र उम्मेदवार पौडेललाई पनि गएको छ।
मतगणना सकिएका वडा नं. ३, ५ र ६ एमालेका लागि उत्साहप्रद रहेनन्। वडा नं. ३ मा एमालेका वडाध्यक्षले ५१.३६ प्रतिशत मत ल्याउँदा मेयरमा सुवेदीले भने ३१.७२ प्रतिशत मात्रै मत पाए। त्यस्तै, वडा नं. ५ मा एमालेका वडाध्यक्षले ४२.४७ प्रतिशत मत पाउँदा मेयर सुवेदीले ३०.६७ प्रतिशत मात्रै मत पाए।
ज्ञवाली अहिले नै निष्कर्ष निकाल्न नहुने बताउँछन्। आधाभन्दा बढी मतगणना भएपछि देखिने मतान्तरको आधारमा नतीजा आकलन गर्न सकिने उनको भनाइ छ। “मैले पनि वडा नं. ६ मा कम मत पाएको थिएँ। त्यति वेला म पनि माइनसमा पुगेको थिएँ,” ज्ञवाली भन्छन्, “अहिलेको चुनावमा पनि यस्तै भएको छ, त्यसैले यसलाई स्वाभाविक रूपमा लिनुपर्छ।”
एमालेले तीन वटा वडामा मत पाउने आश गरेको छ। वडा नंं १०, ११ र १२ मतगणना भएपछि एमालेका उम्मेदवार ‘कमब्याक’ गर्ने उनको भनाइ छ। अहिले वडा नंं ७ को मतगणना भइरहेको छ। यो वडामा चार हजार ६४१ मत खसेको छ। गत निर्वाचनमा यो वडामा एमालेले कांग्रेसभन्दा १५ मत बढी पाएको थियो। भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ५६६ मत खसेको छ।
भरतपुरमा मतगणना शुरू भएको चार दिनमा कहिले दाहाल त कहिले सुवेदीले अग्रता लिइरहेका छन्। आज बिहानैदेखि दाहालले अग्रता बढाउँदै लगेकी छन्।