एउटाको मतले अर्कै उम्मेदवार विजयी !
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ मा एक उम्मेदवारको मतले अर्कै उम्मेदवार विजयी भएका छन्।
नेपाली कांग्रेसबाट खुला सदस्यका उम्मेदवार बुद्धिमान तामाङको मतले कांग्रेसकै खुला सदस्यका अर्का उम्मेदवार रामकुमार खत्री विजयी भएका हुन्।
खुला सदस्यका हरेक उम्मेदवारलाई निर्वाचन अधिकृतको कार्यालयले उनीहरूको नामको वर्णानुक्रमको आधारमा सिङ्गल वा डबल चिह्न प्रदान गर्छ। वर्णानुक्रम अनुसार‚ पहिला नाम आउने उम्मेदवारले सिङ्गल र दोस्रोमा आउने उम्मेदवारले डबल चिह्न पाउने व्यवस्था छ।
वर्णानुक्रममा ‘र’ भन्दा ‘ब’ अघि आउने भएकाले बुद्धिमानले एक रूख चिह्नमा भोट मागे। रामकुमारले डबल रूख चिह्नमा भोट माग्दै हिंडे। चुनावी प्रचारप्रसारमा उनीहरूले सँगै घरदैलो गरे। तर‚ मंगलबार अन्तिम मत परिणाम सार्वजनिक हुँदा भने बुद्धिमानको मतले रामकुमार विजयी भएको घोषणा गरियो।
निर्वाचन आयोगको मतदाता सूचीमा बुद्धिमानको नाम वुद्धिमान उल्लेख छ। सोही आधारमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले वैशाख १७ मा वुद्धिमानलाई चुनाव चिह्न डबल रूख र रामकुमारलाई सिंगल रूख दियो। तर, चुनाव चिह्न लिने वेलामा उनीहरूले ख्याल गरेनन्। ‘ब’ र ‘र’ को आधारमा चुनाव चिह्न पाइएकोमा उनीहरू ढुक्क भए। त्यही अनुसार‚ चुनावी अभियानमा लागे। भोट माग्दै हिंडे। मतगणना सकिंदा बुद्धिमानले सिङ्गल रूख चिह्नमा ३३८ मत पाए, रामकुमारले डबल रूख चिह्नमा २९४ मत पाए। बुद्धिमान विजयी भएकामा ढुक्क भए भने रामकुमार हार स्वीकार गरेर बसे।
तर‚ मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट रामकुमार विजयी भएको घोषणा भयो। ‘व’ र ‘र’ को वर्णानुक्रम अनुसार दिइएको चुनाव चिह्नका आधारमा विजयी घोषणा गरिएको थियो। “मैले दुई रूखमा आफ्नो मत मागेको हुँ‚ जनताले पनि मलाई त्यही अनुसार भोट दिए,” रामकुमार भन्छन्, “मलाई एक रूख मेरो चुनाव चिह्न रहेछ थाहा भएन।”
आफ्नो मतले अर्कै व्यक्ति निर्वाचित भएपछि बुद्धिमान मर्माहत छन्। चुनाव चिह्न लिंदा आफूले पाएको चिह्नबारे ख्याल नगर्दा यस्तो परिणाम आएको कांग्रेसका दिप्रुङ चुइचुम्मा गाउँपालिका सभापति अमृत गिरी बताउँछन्।
निर्वाचन परिणामबारे गुनासो राख्दा निर्वाचन अधिकृतको कार्यालयले वर्णानुक्रम अनुसार गरेकाले अन्य केही गर्न सकिने जवाफ दिएको थियो।