मोरङमा तीन पालिकाको गणना सकियो; दुईमा एमाले, एकमा कांग्रेस विजयी
मोरङका १७ वटा स्थानीय तहमध्ये तीन वटाको मतगणना सम्पन्न भएको छ। तीमध्ये दुई स्थानीय तहमा नेकपा (एमाले) र एउटामा नेपाली कांग्रेस विजयी भएका छन्।
कानेपोखरी र केराबारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन्। कटहरी गाउँपालिकाको अध्यक्षमा कांग्रेस तथा उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन्।
कानेपोखरीको अध्यक्षमा राजमती इङ्नाम आठ हजार ९७५ मत प्राप्त गर्दै विजयी भएकी छन्। उनका प्रतिद्वन्द्वी कांग्रेसका सञ्जय भट्टराईले ६ हजार ४६ मत पाएका छन्। यस्तै‚ उपाध्यक्षमा एमालेका भोलाप्रसाद अधिकारी नौ हजार ५७० मत प्राप्त गरी विजयी भएका छन्। उनकी प्रतिद्वन्द्वी कांग्रेसकी मनकुमारी गुरुङले सात हजार ८१८ मत पाएकी छन्।
केराबारी गाउँपालिकाको अध्यक्षमा एमालेका सुमन मिरिङचिङ मगर विजयी भएका छन्। उनले सात हजार ८१० र कांग्रेसका रोहितबहादुर कार्कीले ६ हजार ३९० मत पाएका छन्। कार्की निवर्तमान अध्यक्ष हुन्। उपाध्यक्षमा एमालेकी मनमाया मगर सात हजार २६७ मत ल्याएर विजयी भएकी छन् भने प्रतिस्पर्धी नेपाली कांग्रेसकी सुभद्रा राईले ६ हजार ४२८ मत पाएकी छन्।
कटहरी गाउँपालिकामा कांग्रेसका देवराज चौधरी अध्यक्षमा र नेकपा एमालेकी सीतादेवी राजवंशी उपाध्यक्षमा विजयी भएका छन्।