मकवानपुरको मनहरीमा मतगणना स्थगित
मकवानपुरको मनहरी गाउँपालिकामा मतगणना स्थगित गरिएको छ। मतपेटिकालाई कपडाले नढाकेको भन्दै विवाद भएपछि अर्को सूचना जारी नभएसम्म गणना रोकिएको निर्वाचन अधिकृत पूर्णबहादुर दर्जीले बताए।
वडा नम्बर ९ को एउटा मतपेटिका कपडाले नछोपिएको अवस्थामा भेटिएपछि राजनीतिक दलका प्रतिनिधिले विवाद निकालेका थिए। मकवानपुर जिल्ला मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले सिल गरिएको मतपेटिकालाई कपडाले नै ढाक्नुनपर्ने बताए। उनले भने‚ “सिल गरिएको बाकस चौरमै फालिए पनि सुरक्षाको दृष्टिकोणले कुनै समस्या हुन्न, कपडाले किन ढाक्न पर्यो!”
मुख्य निर्वाचन अधिकृत श्रेष्ठका अनुसार‚ मतपेटिकामा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको मान्यता प्राप्त डिजिटल सिल गरिने व्यवस्था अनुसार पाँच वटा सिल लगाइएको हुन्छ। जुन सिल एक पटक तोडेपछि पुनः लगाउन सकिंदैन। सिलमा उल्लेख हुने डिजिटल नम्बर दलका प्रतिनिधिहरूसँग रुजु गरेमा मतपेटिका साटिएको हो वा होइन भन्ने सहजै पत्ता लाग्ने श्रेष्ठको भनाइ छ।
वडा नम्बर १ देखि ८ सम्मको गणना शान्तिपूर्ण तरीकाले नै भएको थियो।