मध्यपुरथिमिको मेयरमा कांग्रेस, उपमेयरमा माओवादी केन्द्र विजयी
भक्तपुरको मध्यपुरथिमि नगरपालिकाको मेयरमा गठबन्धनतर्फबाट नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ विजयी भएका छन्। उनले नेकपा (एमाले) का उम्मेदवार मदनसुन्दर श्रेष्ठलाई चार हजार ६३ मतान्तरले पछाडि पार्दै निर्वाचित भएका हुन्।
सुरेन्द्रले १५ हजार ९८ मत र एमालेका मदनले ११ हजार ३५ मत प्राप्त गरेका छन्। मदनले २०७४ सालको निर्वाचनमा १४ हजार मत ल्याएर मेयरमा विजय भएका थिए। यस पटकको निर्वाचनमा भने उनी आफ्नै जेठानसँग पराजित भएका हुन्।
उपप्रमुखतर्फ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका उम्मेदवार विजयकृष्ण श्रेष्ठ १२ हजार १०२ मत प्राप्त गरी विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी एमालेकी उत्तरा नेपालले आठ हजार ९६३ मत प्राप्त गरिन्।
नौ वटा वडा रहेको नगरपालिकामा कांग्रेस १, २, ३, ५, ६ र ९ वडामा विजय भएको छ। वडा नम्बर ७ मा एमाले र ८ मा नेपाल मजदूर किसान पार्टी विजयी भएको छ। -रासस