भरतपुरमा २० हजार मत गणना, कसको कति?
भरतपुर महानगरपालिकामा मंगलबार अपराह्न ४ बजेसम्म २० हजार ८८ मत गणना भएको छ।
मेयरमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेणु दाहालले अग्रता बढाउँदै लगेकी छन्। दाहालले ६ हजार ७९४ मत पाएकी छन्।
उनका प्रतिस्पर्धी नेकपा (एमाले) का विजय सुवेदीले ६ हजार ५४८ मत पाएका छन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले तीन हजार ३०९ मत पाएका छन्।
उपमेयरमा भने नेपाली कांग्रेसका चित्रसेन अधिकारी अगाडि छन्। उनले नौ हजार २४८ मत पाएका छन् भने प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले पाँच हजार ३८८ मत पाएकी छन्।
अहिले भरतपुर महानगरपालिका-५ को मतगणना भइरहेको छ। भरतपुरमा एक लाख २७ हजार ५६६ मत खसेको थियो।