मुचुल्का र मतपेटिकामा मतपत्रको सङ्ख्या फरक हुँदा विवाद
मुचुल्कामा उल्लेख भए अनुसार मतपेटिकामा मतपत्र नभेटिएपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङको मतगणना रोकिएको छ।
मतदानका दिन गरिएको मुचुल्का र मतपेटिकामा मतपत्रको सङ्ख्या फरक परेपछि मंगलबार बिहानदेखि धितुङको मतगणना रोेकिएको हो। मुचुल्कामा एक हजार १४३ मतपत्र उल्लेख भए पनि मतपेटिका खोल्दा २२ मतपत्र कम पाइएको छ।
मतदानस्थलमा खटिएका कर्मचारीले रुजु गरेको मतदाताको सङ्ख्या र मतपत्रको अर्धकट्टीको रुजु नगरी मुचुल्का उठाएर लाहा छाप लगाएका कारण विवाद निस्किएको दलका प्रतिनिधिले बताएका छन्। धितुङको मतगणनाको विषयमा सामान्य विवाद भए पनि अन्य वडाको मतगणना जारी रहेको निर्वाचन अधिकृत संगीता न्यौपाने ढुंगेलले बताइन्।
दलका प्रमुख तथा प्रतिनिधिबीचको बैठकले मतपेटिकामा भए जति मतपत्रको आधारमा मतगणना गर्ने र परिणाम सार्वजनिक गर्ने सहमति गरेको हलेसी तुवाचुङ नगरपालिकाका निवर्तमान मेयर इवन राईले बताए। ११ वडा रहेको हलेसी तुवाचुङ नगरपालिका–१, २, ३, ४, ९, १० र ११ को मत परिणाम सार्वजनिक भइसकेको छ।