गठबन्धनका घटकले हामीसँग सहकार्य गर्न चाहेनन्: माधव नेपाल
नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको चुनावमा गठबन्धनका घटकले आफ्नो पार्टीसँग सहकार्य गर्न नचाहेको बताएका छन्।
२९औं मदन-आश्रित स्मृति दिवसको मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनमा सोचे जस्तो परिणाम आउन नसकेको बताए। “अहिलेसम्मको निर्वाचनको परिणाम अवश्य पनि हाम्रो पार्टीले प्राप्त गर्नुपर्ने जति छैन,” नेपालले भने।
यसमा कतिपय दलले राम्ररी सहकार्य नगरेकाले सोचे अनुसारको परिणाम नआएको उनको भनाइ थियो। “अहिलेसम्म पाँच सय नाघिरहेका छौं। एक सयको सेरोफेरोमा वडाध्यक्ष जित्ने स्थिति बनाएका छौं। १५-२० जना पालिका प्रमुख र उपप्रमुख जित्ने स्थितिमा छौं,” नेपालले भने।
कतिपय ठाउँमा राम्रो परिणाम आए पनि कतिपय ठाउँमा गठबन्धनका घटकले नै राम्ररी सहकार्य नगरेको उनले बताए। “कतिपय स्थानमा राम्रै अवस्था पनि छ, तर कतिपय ठाउँमा अपेक्षित परिणाम प्राप्त गर्न सकेका छैनौं,” अध्यक्ष नेपालले भने, “गठबन्धनका घटकहरूले हामीसँग सहकार्य चाहेनन्।”
उनले यसको गम्भीर समीक्षा गर्नुपर्ने बताए। “पार्टी निर्माणका सन्दर्भमा गम्भीर छलफल चलाउनुपर्नेछ,” नेपालले भने, “निर्वाचनको पनि गम्भीर समीक्षा गर्नेछौं। हामी गठबन्धनको कार्यको पनि समीक्षा गर्नेछौं।”
यी सबै विषयमा छलफल गरेर पार्टीलाई अगाडि लग्नुपर्ने उनको भनाइ थियो। “यी हाम्रा आफ्नै कुरा होलान्, अरूका आफ्नै गुनासा होलान्। जेसुकै गरे पनि यो पार्टीलाई बलियो जगमा उभ्याउनुपर्नेछ,” उनले भने, “विचारका हिसाबले, कामका हिसाबले जनताको प्यारो पार्टीका रूपमा अगाडि बढाउनुपर्नेछ।”