धनगढीमा स्वतन्त्र उम्मेदवारलाई ४४ प्रतिशत मत
धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले ४४ प्रतिशतको हाराहारीमा मत पाइरहेका छन्।
मंगलबार मध्याह्नसम्म १५ हजार ४६० मतगणना भएको छ। जसमा हमालले ६ हजार ८४१ अर्थात् ४४ प्रतिशत मत पाएका छन्। उनले शुरूआतदेखि नै ४० प्रतिशतभन्दा बढी मत पाउँदै आएका छन्।
त्यस्तै, मेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडले तीन हजार ५५४ अर्थात् २२ प्रतिशत मत पाएका छन्। तेस्रो नम्बरमा रहेको नेकपा (एमाले) का उम्मेदवार रणबहादुर चन्दले एक हजार ८०४ अर्थात् ११ प्रतिशत मत पाइरहेका छन्।
त्यस्तै, उपमेयरमा भने गठबन्धन र एमाले उम्मेदवारबीच प्रतिस्पर्धा रहेको छ। गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) की शान्ति अधिकारीले तीन हजार ११३ मत पाएकी छन् भने एमालेकी कन्दकुमारी रानाले तीन हजार ४९ मत पाएकी छन्। तेस्रो नम्बरमा रहेका स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीको एक हजार ६८६ मत रहेको छ।