भरतपुरमा साढे १८ हजार मत गणना, कसले कति पाए?
भरतपुर महानगरपालिकामा मंगलबार मध्याह्नसम्म १८ हजार ५८३ मत गणना भएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, अहिलेसम्म मेयरमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेणु दाहालले अग्रता कायमै राखेकी छन्। उनले ६ हजार २०७ मत पाएकी छन्।
त्यस्तै, नेकपा (एमाले) का उम्मेदवार विजय सुवेदीले ६ हजार ११५ मत पाएका छन्। तेस्रो नम्बरमा रहेका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले तीन हजार २२ मत पाएका छन्।
उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले सात हजार ५५८ मत पाएका छन्। विपक्षी गठबन्धनबाट राप्रपाकी हिमला गुरुङले पाँच हजार १० मत पाएकी छन्।
अहिले भरतपुर वडा नं. ५ को मतगणना भइरहेको छ। भरतपुरमा एक लाख २७ हजार ५६६ मत खसेको थियो।