धनुषाको जनकनन्दिनीमा जसपा र धनौजीमा कांग्रेस विजयी
धनुषाको जनकनन्दिनी गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) र धनौजी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ।
जनकनन्दिनीको अध्यक्षमा जसपाका दिपिनदेव यादव तीन हजार १५७ मत ल्याई विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुदेशकुमार चौधरीले दुई हजार ७२८ मत प्राप्त गरेका छन्।
उपाध्यक्षमा भने कांग्रेसकी कमला सहगल दुई हजार ९९८ मत ल्याएर विजयी भएकी छिन्। उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी जसपाकी गीता साहले दुई हजार ८४७ मत प्राप्त गरेकी छिन्।
धनौजी गाउँपालिकामा कांग्रेसका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा राजकुमार साह दुई हजार २६२ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का जीवेन्द्र झाले दुई हजार १६३ मत प्राप्त गरेको निर्वाचन अधिकृत पोषराज खनालले जानकारी दिए।
उपाध्यक्षमा कांग्रेसकी रामवतीदेवी मण्डलले दुई हजार ४३० मत ल्याएर विजयी भइन्। उनका निकटतम प्रतिद्वन्द्वी लोसपाकी रञ्जितादेवी मण्डलले एक हजार ९०१ मत प्राप्त गरेकी छन्।
वडाध्यक्षमा वडा नम्बर १ बाहेक चार वटै वडामा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्। वडा नम्बर १ मा लोसपाको प्यानल विजयी भएको छ।