पूर्व सभामुखद्वय महरा र घर्तीको वडामा एमाले विजयी
पूर्व सभामुखद्वय कृष्णबहादुर महरा र ओनसरी घर्तीको वडामा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन्।
घोराही उपमहानगर-१७ मा नेकपा (एमाले) का वडाध्यक्षका उम्मेदवार रामलौटन चौधरी प्यानल सहित विजयी भएका हुन्। चौधरीले निकटतम प्रतिस्पर्धी गठबन्धन तर्फबाट नेकपा (माओवादी केन्द्र) का पदम केसीलाई २१७ मतान्तरले पराजित गरेका हुन्। चौधरीले दुई हजार १७१ र केसीले एक हजार ९५४ मत प्राप्त गरेका छन्।
यसै गरी महिला सदस्य वसन्ती पोखरेल दुई हजार १२८ मत, दलित सदस्य शिवा विक दुई हजार ३२५ मत, खुला सदस्यमा भद्रवीर चौधरी दुई हजार ९८ र धनीराम चौधरी दुई हजार १५८ मत ल्याएर निर्वाचित भएका छन्। उक्त वडामा २०७४ को स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले प्यानल नै जितेको थियो। तर, यस पटक पाँच दलीय गठबन्धन भए पनि पराजय बेहोरेको छ।
माओवादी केन्द्रका प्रवक्ता समेत रहेका महराको घर घोराही-१७ पनौरामा छ। महरा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन एक साता गाउँमै खटेका थिए। उनी यही क्षेत्रबाट प्रतिनिधि सभाको सदस्यमा निर्वाचित भएका थिए। त्यसै गरी पूर्व सभामुख घर्तीको घर पनि घोराही-१७ स्थित चौघेरामा छ।