शीर्ष नेता जसले आफ्नै वडा जोगाउन सकेनन्
स्थानीय तहको निर्वाचनमा राजनीतिक दलका शीर्ष नेताहरूले आफ्नै वडा तथा पालिका पनि जोगाउन सकेनन्।
निर्वाचन आयोगका अनुसार, सोमबारसम्म ७५३ मध्ये १३० स्थानीय तहको मतगणना सकिएको छ। जसमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको गठबन्धनले अग्रता लिएको छ। नेकपा (एमाले) को राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राप्रपा नेपाल र नेपाल परिवार दलसँगको विपक्षी गठबन्धनले सत्तारूढ गठबन्धनलाई पछ्याइरहेको छ।
अहिलेसम्म घोषणा भएका नतीजामा केही शीर्ष नेताले आफ्नै पालिका पनि जोगाउन सकेका छैनन् भने केही शीर्ष नेताका पालिकामा विपक्षी दलका उम्मेदवारले अग्रता लिइरहेका छन्। कतिपय नेताका वडामा समेत पार्टीले हारेका छन्।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुराको वडामै कांग्रेस पराजित भएको छ। गन्यापधुरा गाउँपालिका-१ मा कांग्रेस (बीपी) का उम्मेदवार नरेश भण्डारी वडाध्यक्षमा निर्वाचित भएका छन्। यो वडामा कांग्रेस बीपी र एमालेबीच चुनावी तालमेल भएको थियो।
त्यस्तै, देउवा बस्दै आएको काठमाडौंस्थित बूढानीलकण्ठमा पनि कांग्रेसले वडाको चुनाव हारेको छ। बूढानीलकण्ठ-३ मा स्वतन्त्र उम्मेदवार आकाश धितालले जित हासिल गर्दा कांग्रेस भने तेस्रो स्थानमा रहेको छ। यो वडामा एमाले दोस्रो भएको छ।
विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र रहेको झापा-२ स्थित दमक नगरपालिकामा पनि एमाले राप्रपासँग पछाडि परेको छ। यद्यपि, यहाँ मतगणना जारी छ।
यता, ओली बस्दै आएको भक्तपुरको सूर्यविनायक नगरपालिका-२ मा एमाले पराजित भएको छ। यो वडाध्यक्षमा प्रदीप कार्की सहित सबै सदस्य कांग्रेसले जितेको छ। अध्यक्ष कार्कीले एक हजार ५११ र उनका निकटतम प्रतिस्पर्धी एमालेका विश्वराज विष्टले एक हजार ३०५ मत पाएका छन्।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको गृहजिल्ला चितवनको भरतपुर महानगरमा गठबन्धनका तर्फबाट मेयरकी उम्मेदवार रेणु दाहाल पछाडि परेकी छन्। एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता लिइरहेका छन्।
नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालको गृहजिल्ला इलामको इलाम नगरपालिका-१ मा वडा सदस्यका उम्मेदवार पराजित भएका छन्। गठबन्धनबाट वडाध्यक्ष सहित अन्य सदस्य निर्वाचित हुँदा एकीकृत समाजवादीका वडा सदस्यका उम्मेदवार इन्द्रबहादुर कटवाल एमालेका खड्गबहादुर गुरुङसँग पराजित भएका हुन्।
त्यस्तै, जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको गृहजिल्ला गोर्खाका अधिकांश स्थानीय तहमा माओवादीका उम्मेदवारले अग्रता हासिल गरेका छन्। भट्टराईको गृहनगर पालुङटार नगरपालिकामा जसपा तेस्रो स्थानमा छ।
एमालेका उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको गृहनगर इलाम नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ। जसपा बाहेकको सत्तारूढ गठबन्धनबाट कांग्रेसका केदार थापा मेयरका उम्मेदवार छन्। गत निर्वाचनमा इलाममा एमालेले जितेको थियो।
माओवादी नेता नारायणकाजी श्रेष्ठको गृहजिल्ला गोरखाकै सिरानचोक गाउँपालिकामा ठूलो मतान्तरका साथ कांग्रेस उम्मेदवार विजयी भएका छन्।
सभामुख अग्निप्रसाद सापकोटाको गृहजिल्ला सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-२ मा माओवादी उम्मेदवार पराजित भएका छन्। वडाध्यक्षमा कांग्रेसका छविलाल न्यौपाने ४९६ मत सहित विजयी भएका छन् भने माओवादीका पुरुषोत्तम सापकोटा एक मतले पराजित भएका छन्।
एमालेका सचिव गोकर्ण विष्टको गृहजिल्ला गुल्मीको इस्मा गाउँपालिकामा एमाले पराजित भएको छ। यो पालिकामा कांग्रेसका उम्मेदवार भगवत सिंह खड्का विजयी भएका छन्।
एमालेकै अर्का सचिव योगेश भट्टराईको गृहजिल्ला ताप्लेजुङको मैवाखोला गाउँपालिकामा एमाले पराजित भएको छ। मैवाखोला-४ मा गठबन्धनले वडाध्यक्ष सहित चार सदस्य जित्दा एमाले भने एउटा सदस्यमा सीमित भएको छ। २०७४ को निर्वाचनमा एमालेले अध्यक्ष-उपाध्यक्ष सहित ६ वटै वडा जितेको थियो।
एकीकृत समाजवादीका उपमहासचिव तथा कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालाको वडामा समाजवादी तेस्रो स्थानमा सीमित भएको छ। सल्यानको बनगाड कुपिन्डे नगरपालिका-१ मा कांग्रेसका थुमबहादुर बिसीले समाजवादीका डम्बरबहादुर शाहुलाई पराजित गरेका हुन्। यो पालिकामा मेयर तथा उपमेयरमा तीन दलीय गठबन्धन भए पनि वडामा भने तालमेल हुन सकेको थिएन।
एमालेका नेता गोकुल बास्कोटाको गृहजिल्ला काभ्रेको मण्डन देउपुर नगरपालिकामा एकीकृत समाजवादीले अग्रता लिएको छ। यद्यपि, नेता बास्कोटाको घर रहेको वडा नम्बर ४ मा भने एमालेले जितेको छ।
यसै गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूको गृहनगरमा एमाले भारी मतले विजयी भएको छ। दार्चुलाको महाकाली नगरपालिकाको मेयरमा एमालेका नरसिंह चैसिरले पाँच हजार १३ मत पाए भने कांग्रेसका हंसराज भट्टले तीन हजार ८८७ मत पाए।
पर्यटन मन्त्री तथा एकीकृत समाजवादीका नेता प्रेम आलेको गृहजिल्ला डोटीको जोरायल गाउँपालिकामा एमालेको पुरानै टीम दोहोरिएको छ। अध्यक्षमा दुर्गादत्त ओझा र उपाध्यक्ष जमुनाकुमारी रोकायाले जितेका छन्। यो पालिकामा एकीकृत समाजवादीका किरण मल्ल तेस्रो भएका छन्।
शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको गृहजिल्ला गुल्मीको मदाने गाउँपालिका-४ को वडाध्यक्षमा एकीकृत समाजवादी पराजित भएको छ। कांग्रेस र माओवादी सहितको गठबन्धन गरे पनि यो वडामा भने एमालेले जितेको हो।