बजेटका सिद्धान्त र प्राथमिकतामाथि भोलिदेखि छलफल
आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथि मंगलबारदेखि प्रतिनिधि सभामा छलफल हुने सम्भावित कार्यसूची रहेको छ।
संघीय संसद् सचिवालयले मंगलबार अपराह्न ४ बजे बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची प्रकाशित गरेको छ। संघीय संसद्का महासचिव भरतराज गौतमले प्रकाशित गरेको सम्भावित कार्यसूचीमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र, मन्त्रिपरिषद् गठन सम्बन्धी पत्र सुनाइने भएको छ।
त्यस्तै, सभामुख अग्निप्रसाद सापकोटाले संसद्को अध्यक्षता गर्ने सांसद मनोनीत गर्नेछन्।
त्यसपछि कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (गोविन्द बन्दी) ले दुई वटा अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ।
त्यससँगै अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफलका लागि प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको छ।