देशभर १३ हजार ५८२ जनप्रतिनिधि निर्वाचित
स्थानीय तहको निर्वाचनमा १३ हजार ५८२ जनप्रतिनिधि निर्वाचित भएका छन्।
निर्वाचन आयोगले सोमबार पत्रकार सम्मेलन गरी अहिलेसम्म निर्वाचित जनप्रतिनिधिबारे जानकारी दिएको हो। सोमबार अपराह्न ३ बजेसम्म १३ हजार ५८२ जनप्रतिनिधि निर्वाचित भएको जानकारी आएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।
उनका अनुसार, अहिलेसम्म १३० स्थानीय तहको मतगणना सकिएको छ। जसमा १३ नगरपालिकाका मेयर र उपमेयर निर्वाचित भएका छन्।
त्यस्तै, ११७ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएका छन्। यससँगै दुई हजार ६७९ वडाध्यक्ष निर्वाचित भएको आयोगले जनाएको छ।
यसै गरी अहिलेसम्म दुई हजार ६७८ महिला वडा सदस्य निर्वाचित भएका छन्। दलित महिला सदस्य दुई हजार ६४७ र वडा सदस्य पाँच हजार ३१८ जना निर्वाचित भएको आयोगले जनाएको छ।