भरतपुरमा मतान्तर बढाउँदै विजय सुवेदी
भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (एमाले)का उम्मेदवार विजय सुवेदीले मतान्तर बढाउँदै लगेका छन्।
पहिलो र दोस्रो दिन नेकपा (माओवादी केन्द्र)की रेणु दाहाललाई पछ्याइरहेका सुवेदीले आज बिहानैदेखि अग्रता लिएका हुन्। पछिल्लो मतगणना अनुसार उनले मतान्तर बढाएका छन्।
सोमबार दिउँसो २ बजेसम्म १२ हजार ८६२ मतगणना हुँदा सुवेदीले चार हजार चार सय मत पाएका छन्। दाहालले चार हजार ३३९ मत पाएकी छन्।
तेस्रो नम्बरमा रहेका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार नौ सय मत पाएका छन्।
त्यस्तै, उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले पाँच हजार १०३ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले तीन हजार ४८३ मत पाएकी छन्।
भरतपुरका वडा नं. १, २ र ३ को मतगणना सकिएको छ भने वडा नंं ४ को मतगणना चलिरहेको छ।