भरतपुरका वडामै फेरबदल, एक-अर्काका गढ भत्काउँदै कांग्रेस-एमाले
भरतपुर महानगरपालिकाको मेयरमा तीव्र प्रतिस्पर्धा भइरहँदा वडा भने फेरबदल आएको छ। एमाले र कांग्रेसले एक-अर्काका गढ भत्काएका छन्।
सोमबार मध्याह्नसम्म भरतपुरका तीन वटा वडाको मतगणना सकिंदा दुईमा कांग्रेस र एउटामा एमाले उम्मेदवार निर्वाचित भएका छन्। पछिल्लो मतगणना अनुसार, भरतपुर-३ को वडाध्यक्षमा एमालेका विकास थापा निर्वाचित भएका छन्। गत निर्वाचनमा यो वडामा कांग्रेसका चन्द्रमित्र पण्डित निर्वाचित भएका थिए।
कांग्रेसको गढ मानिएको यो वडामा एमालेका थापाले एक हजार ६६६ मत पाएका छन्। जबकि, कांग्रेसका भरत लामिछानेले एक हजार ४६ मत मात्रै पाएका छन्।
वडा सदस्यमा भने कांग्रेसका तीन र एमाले एक उम्मेदवार निर्वाचित भएका छन्। यो वडामा तीन हजार २४४ मत खसेको थियो।
त्यस्तै, वडा नं. १ र २ को कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्। वडा नं. २ मा ३४ मत अन्तरले कांग्रेसका मनोज रानाभाट निर्वाचित भएका छन्। जबकि, चारै वडा सदस्यमा एमालेका उम्मेदवार निर्वाचित भएका छन्। गत निर्वाचनमा वडाध्यक्षमा एमालेका उम्मेदवार निर्वाचित भएका थिए।
यसै गरी वडा नंं १ मा ८४ मतान्तरले कांग्रेसका केशव महर्जन निर्वाचित भएका छन्। यसमा पनि तीन वटा वडा सदस्य एमालेले जितेको छ भने कांग्रेसले एउटा मात्रै जितेको छ।
यसअघि वडा नं. २ लाई एमालेको र वडा नं. ३ लाई कांग्रेसको गढ मानिएको थियो। अहिले दुवै पार्टीले एक-अर्काको गढ मानिएको वडामा जित हासिल गरेका छन्। वडा नं. १ मा भने दुवै पार्टीबीच प्रतिस्पर्धा रहँदै आएको थियो।
अहिले वडा नं. ४ को मतगणना चलिरहेको छ। अहिलेसम्म ८३४ मतगणना हुँदा कांग्रेसले ३४९, एमालेले २३३ र राप्रपाले १३७ मत प्राप्त गरेका छन्। गत निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई सात मतले पछि पार्दै एमालेका हरिप्रसाद आचार्य वडाध्यक्षमा निर्वाचित भएका थिए।
२०७४ को निर्वाचनमा भरतपुरका २९ वडामध्ये एमालेले १४, कांग्रेसले १२ र माओवादीले तीन वडामा जित हासिल गरेको थियो। यस पटक वडामा भइरहेको फेरबदलको असर मेयरमा पनि देखिएको छ। अहिलेसम्म मेयरका उम्मेदवार माओवादीकी रेणु दाहाल र एमालेका विजय सुवेदीबीच तीव्र प्रतिस्पर्धा चलिरहेको छ।
वडामा देखिएको प्रतिस्पर्धा जस्तै मेयरका दुवै उम्मेदवारबीच पनि शुरूआतदेखि नै थोरै मतको अन्तर रहँदै आएको छ।
सोमबार दिउँसो २ बजेसम्म १२ हजार ८६२ मतगणना हुँदा सुवेदीले चार हजार चार सय मत पाएका छन्। दाहालले चार हजार ३३९ मत पाएकी छन्। तेस्रो नम्बरमा रहेका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार नौ सय मत पाएका छन्।