विराटनगरको मेयरमा गठबन्धन र उपमेयरमा एमालेको अग्रता
मोरङको विराटनगर महानगरपालिकाको मेयर पदमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन्।
मुख्य निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार‚ कांग्रेसका नागेश कोइरालाले ४ हजार ९९६ मत प्राप्त गरेका छन्। यस्तै‚ नेकपा (एमाले) का सागर थापाले ३ हजार ५१८ र स्वतन्त्र उम्मेदवार उमेश यादवले १ हजार ६१९ मत प्राप्त गरेका छन्।
यसैगरी‚ उपमेयरमा भने एमालेका उम्मेदवारले गठबन्धनका उम्मेदवारलाई पछि पारेका छन्। एमालेकी शिल्पा निरौला कार्कीले ३ हजार ९९६, गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) का अमरेन्द्र यादवले २ हजार ९३३, राप्रपाका विन्दाकुमारी लुइँटेल आचार्यले ९६५ मत प्राप्त गरेका छन्।
वडा नम्बर १७ को वडाध्यक्षमा जसपाका समिम कमर मियाँले १ हजार ४५० मत ल्याएर विजयी भएका छन्। वडा नम्बर १९ को वडाअध्यक्षमा एमालेका श्याम घिमिरेले ९८७ मत ल्याएर विजयी भएका छन्। -रासस