घोराहीमा एमाले, बुटवल र नेपालगञ्जमा गठबन्धन अगाडि
लुम्बिनी प्रदेशको चार उपमहानगरपालिकामध्ये घोराही, नेपालगञ्ज र बटुवलमा मतगणना जारी छ। तीमध्ये घोराहीमा नेकपा (एमाले) तथा नेपालगञ्ज र बुटवलमा सत्ता गठबन्धनको अग्रता छ।
घोराहीको पछिल्लो मत परिणाम अनुसार‚ मेयरमा एमालेका उम्मेदवार नरुलाल चौधरीले फराकिलो मतका साथ अगाडि छन्। २६ हजार २२६ मत गणना गर्दा चौधरीले १० हजार ५८३ मत प्राप्त गरेका छन्। गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार हेमराज शर्माले ९ हजार ५०१ मत प्राप्त गरेका छन्।
उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार भुपबहादुर डाँगी अगाडि छन्। उनले १० हजार ३०२ मत र एमालेकी हुमा डिसीले १० हजार १७५ मत प्राप्त गरेकी छन्।
त्यसैगरी‚ नेपालगञ्ज उपमहानगरमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका प्रशान्त विष्टले मतान्तर फराकिलो बनाउँदै अग्रता लिइरहेका छन्। उनले ५ हजार ३२६ मत र एमालेका पशुपति दयाल मिश्राले २ हजार १८१ मत प्राप्त गरेका छन्। राप्रपका नन्दलाल वैश्यले २ हजार ४२ मत ल्याएर तेस्रो स्थानमा छन्।
उपमेयरमा गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी (जसपा) का कमरुद्धिन राईले ४ हजार २० मत ल्याएर अग्रस्थानमा छन्। उनलाई राप्रपाकी विन्दुचर्ति मगरले पछ्याइरहकी छिन्। मगरले २ हजार ५४२ मत प्राप्त गरेकी छिन्। एमालेकी शान्तिदेबी ढकाल १ हजार ९६१ मत सहित तेस्रो स्थानमा छिन्।
यस्तै‚ बुटवल उपमहानगरमा पनि गठवन्धनकै उम्मेद्वार अगाडि छन्। कांग्रेसका खेलराज पाण्डे ४ हजार ९६९ मत सहित अगाडि छन्। एमालेका बाबुराम भट्टराईले ३ हजार २२९ मत ल्याएर दोस्रो स्थानमा छन्।
उपमेयरमा भने एमालेकी सावित्रा अर्यालले ३ हजार ७२८ मत ल्याएर अग्रता कायम गरेकी छिन्। दोस्रोमा गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का चीनबहादुर गुरुङले २ हजार ९४ मत प्राप्त गरका छन्।