धनुषामा मतगणना स्थलमा गोली चल्यो, सेना परिचालन
धनुषाको धनौजी गाउँपालिका र नगराइनमा नगरपालिकामा विवाद उत्पन्त भएपछि मतगणना स्थगित भएको छ भने प्रदर्शन नियन्त्रण गर्न प्रहरीले हवाई फायर गरेको छ।
धनौजी गाउँपालिका र नगराइन नगरपालिकामा खसेको मतभन्दा बढी मतपत्र बाहिरिएपछि दुवै स्थानीय तहमा मतगणना स्थगित गरिएको हो। धनौजी गाउँपालिकमा मतदान अधिकृतले फिल्डबाट पठाएको रिपोर्टभन्दा १५ मत बढी फेला परेपछि विवाद उत्पन्न भएको हो।
धनौजीस्थित मतगणना स्थल बाहिर विवादले उग्ररुप लिएपछि प्रहरीले हवाई फायर समेत गरेको छ। स्थितिलाई नियन्त्रणमा लिन २५ राउन्ड हवाई फायर र एक राउन्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए। धनौजीको मतगणना स्थललाई सामान्य बनाउनका लागि अहिले नेपाली सेना परिचालन गरिएको छ।
निर्वाचन अधिकृत पोषराज खनालका अनुसार मतपेटिकामा उल्लेख गरिएको भन्दा १५ वटा मत बढी फेला परेको भन्दै उम्मेदवार तथा प्रतिनिधिले होहल्ला गरेको थियो। “मतपेटिकामा मत खसेको भन्दा बढी मत फेला परेको छ। निर्वाचन सम्बन्धी ऐनले मतपेटिकामा रहेको मतलाई नै अन्तिम मत मान्ने अवस्था रहे पनि यसलाई वेवास्ता गरेपछि विवाद हुँदा मतगणना रोकिएको छ,” उनले भने।
धनौजी गाउँपालिका–२ मा एक हजार ६९४ मत हुनुपर्नेमा त्यसभन्दा बढी मत मतपेटिकामा फेला परेको हो।
अहिलेसम्मको मतगणना अनुसार अध्यक्षमा नेपाली कांग्रेसका राजकुमार साह एक हजार ५१४ मत सहित पहिलो स्थानमा रहेका छन् भने उनका प्रतिस्पर्धी लोसपाका जिवेन्द्र झा एक हजार मत सहित दोस्रो स्थानमा रहेका छन्। लोसपा र नेकपा (एमाले) सहितका दल विरोधमा उत्रिएका हुन्।
त्यस्तै, नगराइन नगरपालिकामा लोसपा र एमाले लगायतका दलले पुनः मतगाणनाको माग गरेपछि मतगणना स्थगित भएको छ। मतपेटिकामा रहेको अन्य दलको हकमा आएको सदर मतलाई पनि बदर गरिएको, कांग्रेसको बदर मतलाई समेत सदर गरिएको आरोप लगाउँदै पुनः मतगणनाको माग गरिएको छ।
लोसपाको मेयरका उम्मेदवार राजेश चौधरी सहित ११ जना प्रतिनिधिले मतगाणना स्थगित गर्नुपर्ने माग गरेपछि मतगाणना स्थगित गरिएको निर्वाचन अधिकृत सुदिपकुमार दंगालले जानकारी दिए।