महापरिनिर्वाणको मर्म
बुद्धले भौतिक रूपमा संसार छाडेको ‘महापरिनिर्वाण मुद्रा’ उनी निदाएको वा आराम गरेको अवस्था होइन।
गौतम बुद्धका अनेक मूर्तिमध्ये ‘महापरिनिर्वाण मुद्रा’ एक हो। लुम्बिनीमा ईपू ५६३ मा जन्मेका उनले ईपू ४८३ मा कुशीनगरमा देहत्याग गरेका थिए। बौद्ध समाजमा बुद्धको देहत्यागलाई ‘महापरिनिर्वाण’ भनिन्छ। यसलाई जनाउन सिंह-शय्यामा दाहिने हातको सिरान हालेका बुद्धको मूर्ति वा चित्रकला प्रयोगमा छन्। जापानमा एउटा सम्प्रदाय नै छ जसले त्रिपिटक अन्तर्गतको दिगनिकायमा सङ्गृहीत ‘महापरिनिर्वाणसूत्र’ र उक्त मुद्राको बुद्धमूर्तिलाई विशेष मान्छ।
बौद्ध बाहेकले महापरिनिर्वाण मुद्रालाई बुद्धको आराम, आनन्द र शयनासनका रूपमा पनि व्याख्या गरिरहेका हुन्छन्। गल्तीवश बौद्ध सङ्घसंस्था तथा व्यक्तिले पनि यिनैलाई पछ्याइरहेका छन्। यस्तो असमञ्जसमा महापरिनिर्वाणको अर्थ र सन्दर्भ महत्त्वपूर्ण छन्।
जीवन-जगत्लाई बुझाउन सत्यका अनेक व्याख्या गरिएका पाइन्छन्। बुद्धबाट व्यक्त चार सत्य बौद्ध धर्म-दर्शनका आधारभूत मान्यता हुन्। पहिलो सत्य दुःख हो। दोस्रो, तेस्रो र चौथो सत्य क्रमशः ‘दुःखको कारण छ, यसको निवारण गर्न सकिन्छ र अष्टाङ्गिक मार्ग अपनाउँदा दुःख निवारण हुन्छ’ हुन्।
दुःख निवारणलाई बौद्ध जगत्मा निर्वाण भनिन्छ। जीवन-जगत्प्रति हरेक दर्शनका आआफ्नै दृष्टिकोण हुन्छन्। साधना र साध्य पनि फरक छन्, अभिव्यक्त गर्ने कति शब्द चाहिं उस्तै हुन सक्छन्। निर्वाणलाई गैरबौद्ध क्षेत्रमा मोक्ष वा ‘इन्लाइटमेन्ट’ भनिएको पाइन्छ। बुद्धका अनुसार, प्राणी कर्म सिद्धान्त अनुसार जन्म-मृत्युको भवचक्रमा घुमिरहन्छन्। यही भवचक्रमा विभिन्न योनिमा घुमिरहनुलाई उनले दुःख भनेका हुन्।
यस्तो चक्र तृष्णारूपी क्लेश बाँकी रहुन्जेल घुमिरहन्छ। तृष्णा क्षय गर्न सकिए जन्म-मृत्युको कारण नै भङ्ग हुने भएकाले दुःखबाट स्वतः मुक्ति मिल्छ। त्यही नै निर्वाण प्राप्ति हो। यो प्रक्रियामा कुनै अदृश्य शक्ति वा पात्रको भूमिका रहन्न। निर्वाणलाभ अरू कसैको कृपादृष्टि वा इच्छाको बलमा सम्भव छैन, कल्याणमित्रहरूले मार्गदर्शनसम्म गरिदिन सक्छन्।
लामो समय बोधिचर्या गर्दै पारमीहरू पूरा गरेर जन्म-मृत्युको चक्रबाट मुक्ति पाउने व्यक्तिलाई सम्यक् सम्बुद्ध भनिन्छ भने बुद्धको उपदेश सुनेर उक्त चक्रबाट मुक्त हुनेलाई अर्हत। बौद्ध दर्शन अनुसार निर्वाणप्राप्त व्यक्तिको पुनर्जन्म हुँदैन।
बौद्ध दर्शनले निर्वाणका दुई अवस्था बताउँछ। साधनामार्फत जन्म-मृत्युको चक्रलाई तोड्ने काम जीवित अवस्थामै हुन्छ। सिद्धार्थ गौतमले ३५ वर्षको उमेरमा बोधगयामा वैशाख पूर्णिमाका दिन बुद्धत्व प्राप्त गरेका थिए। यो पहिलो प्रकारको निर्वाण लाभ हो।
सशरीर लाभ गरिएको यस्तो निर्वाणलाई ‘सौपादिशेष’ भनिन्छ जुन अर्हतहरूले पनि लाभ गर्न सक्छन्। लामो समय बोधिचर्या गर्दै पारमीहरू पूरा गरेर जन्म-मृत्युको चक्रबाट मुक्ति पाउने व्यक्तिलाई सम्यक् सम्बुद्ध भनिन्छ भने बुद्धको उपदेश सुनेर उक्त चक्रबाट मुक्त हुनेलाई अर्हत। बौद्ध दर्शन अनुसार निर्वाणप्राप्त व्यक्तिको पुनर्जन्म हुँदैन।
सौपादिशेष निर्वाणमा व्यक्ति जीवित नै हुन्छ। भौतिक रूपमा हुने मृत्युलाई भने ‘निरुपादिशेष निर्वाण’ भनिन्छ। बुद्धले कुशीनगरमा निरुपादिशेष निर्वाण लाभ गरेका हुन्। तर, जनसाधारणमाझ् बोधिलाभलाई निर्वाणका रूपमा प्रयोग गरिएको पाइँदैन। बुद्धको निरुपादिशेष निर्वाणलाई नै विशेष महत्त्व दिई ‘परिनिर्वाण’ वा ‘महापरिनिर्वाण’ भनिएको पाइन्छ। जन्म-मृत्युको चक्र तोड्न सक्षम अर्हतका सन्दर्भमा भने निर्वाण शब्द मात्र प्रयोग भइरहेको हुन्छ।
बौद्ध वाङ्मय अनुसार, बुद्धले सौपादिशेष निर्वाण पाए लगत्तै मार नामका व्यक्ति आएर उनलाई निरुपादिशेष निर्वाण पनि लिइहाल्न आग्रह गरे। बुद्धले जवाफ दिए- जबसम्म आफ्नो ज्ञान प्रचारप्रसार गरेर भिक्षु-भिक्षुणी र उपासक-उपासिकालाई दृढ बनाउँदिनँ, निरुपादिशेष निर्वाण लिन्नँ। जब उनी ८० वर्ष पुग्न तीन महीना मात्र बाँकी थियो, मार आएर पुरानै आग्रह दोहोर्याए। अब भने बुद्धले मारको आग्रह स्विकार्दै तीन महीनापछि आफ्नो महापरिनिर्वाण हुने घोषणा गरे।
आयुसंस्कारपरित्याग यात्रा
बौद्ध जगत्मा ‘आयुसंस्कारपरित्याग’ भनिने यो घोषणालाई महत्त्वपूर्ण मान्दै उक्त दिन विशेष पूजा गरिन्छ। भनिन्छ, आयुसंस्कारपरित्यागका वेला भूकम्प गएको थियो। केही समयपछि यसको चर्चा हुँदा भिक्षु आनन्दले बुद्धले तथागत (बुद्धले आफ्ना लागि प्रयोग गर्ने विशिष्ट शब्द) हरूको आयुसंस्कारपरित्यागका वेला पनि भूकम्प जाने बताएको सुनाएका थिए।
बुद्धले आयुसंस्कारपरित्याग वैशालीस्थित बेलुवन विहारमा चापाल चैत्यसामु गरेका थिए। त्यसपछि उनी भिक्षुसङ्घ सहित भण्डग्राम, हस्तीग्राम, अम्बग्राम, गम्बुग्राम, भोगनगरतिर केही दिन बिताउँदै पावातिर लागे। पावामा चुन्द कम्मारको आम्रवनमा बसे। भोलिपल्टको भोजन उनकै घरमा तय भयो जसमा ‘सूकरमद्दव’ पनि समावेश थियो। त्यो खाएपछि बुद्धलाई रक्तस्रावको मरणान्तिक वेदना हुन थाल्यो। भनिन्छ, सूकरमद्दव भनेको सुँगुरको मासु हो।
बुद्ध तथा अर्हतका सन्दर्भमा मात्र प्रयोग गरिँदै आएको महापरिनिर्वाण शब्द आजभोलि कुनै गुम्बाको विशिष्ट भिक्षु (लामा) को मृत्यु वा यस्तै अन्य सन्दर्भमा पनि लेख्ने गरिएको पाइन्छ।
अर्को मतले चाहिं त्यसलाई जङ्गलमा पाइने कुनै फलविशेष भन्छ। खास गरी बुद्धले मासु खाएको कुरा लुकाउन खोज्नेहरू त्यसलाई फल भन्छन्। जबकि, बुद्ध मासु पनि खान्थे भन्ने अन्य घटनाबाट पनि प्रष्ट हुन्छ। भोजनमा प्रयोग हुने मासुका लागि उनले निश्चित नियम निर्दिष्ट गरेको पाइन्छ जसमा हिंसाको भाव हुँदैन। जे होस्, बुद्धको अन्तिम भोजन त्यही भयो।
बुद्धले चुन्दलाई दोष नदिन पहिल्यै आनन्दलाई भनिसकेका थिए। सुजाताले दिएको खीरबाट सौपादिशेष निर्वाण (बोधिलाभ) गरेका उनलाई चुन्दको भोजनले निरुपादिशेष निर्वाण दिलायो। बिरामी भएपछि बुद्ध चार कोश टाढा कुशीनगरस्थित मल्लहरूको शालवनमा बसे। दुई वटा शालवृक्षको बीचमा उत्तर सिरान पारी दाहिनेतिरबाट सिंह-शय्यामा पल्टिए।
अन्तिम समयसम्म पनि बुद्धले धर्मोपदेश दिइरहे। अर्कै धर्ममा रहेका सुभद्र नामक परिव्राजक बुद्धले देहत्याग गर्न लागेको थाहा पाई दौडेर भेट्न आइपुगे। अनि भिक्षुत्व ग्रहण गरी अर्हत पद लाभ गरे। अर्हत पद पाउनु पनि निर्वाण नै हो। त्यसपछि बुद्धले त्यहाँ उपस्थितहरूलाई सचेत गराए- केही बाँकी जिज्ञासा भए अहिले नै सोधिहाल्नू। प्रश्न नआएपछि उनी पूर्ववत् अवस्थामा सिंहशय्यामै रही ध्यान गर्न थाले। ध्यानावस्थामै अन्तिम सास फेरी महापरिनिर्वाण लाभ गरे।
बुद्ध तथा अर्हतका सन्दर्भमा मात्र प्रयोग गरिँदै आएको महापरिनिर्वाण शब्द आजभोलि कुनै गुम्बाको विशिष्ट भिक्षु (लामा) को मृत्यु वा यस्तै अन्य सन्दर्भमा पनि लेख्ने गरिएको पाइन्छ। सम्बद्ध शिष्यमण्डलीले अर्थ बुझेर नभई गुरुप्रति अत्यन्त श्रद्धा र आदरभाव प्रकट गर्न यस्तो शब्दले सम्बोधन गरेका हुन्।
महायान बौद्ध सम्प्रदायमा जोकोही भिक्षु (लामा) वा उपासक-उपासिका बोधिसत्त्व हुन सक्छन्। कुनै व्यक्ति बोधिसत्त्व हो÷होइन भन्ने उसको व्यवहार र जीवनशैलीमा निहित हुन्छ। कोही चाहिं बोधिचर्या गर्ने पूर्वजन्मको प्रणीधान अनुसार पनि बोधिसत्त्व भएका हुन सक्छन्। अर्हत् र बोधिसत्त्व उही भने होइनन्।
बौद्ध साधकहरूमा बोधिसत्त्व अर्को एउटा वर्ग हो। आफूमा जन्म-मृत्युको चक्रबाट मुक्त हुने क्षमता विकास गर्दै अरूको मुक्तिका लागि पनि समर्पित हुने उच्च आदर्शले प्रेरित भई बोधिचर्याको सङ्कल्प लिनेलाई बोधिसत्त्व भनिन्छ। बोधिसत्त्वहरू जन्म-मृत्युको चक्रबाट मुक्त भइनसक्दा पनि अन्य प्राणीप्रति असीम करुणाभाव राखी यही भवचक्रलाई उपभोग गर्दै उच्च साधना गर्छन्। अरूको हितमा प्राणोत्सर्ग गर्नमा पनि प्रीतिको अनुभव गर्छन्।
महायानी गुरुहरूलाई सम्बद्ध शिष्य तथा उपासक-उपासिकाले बोधिसत्त्वका रूपमा ग्रहण गर्नु स्वाभाविक हो। बोधिसत्त्वहरू असङ्ख्य पुनर्जन्म लिई सम्पूर्ण पारमी पूरा गरेपछि सम्यक् सम्बुद्ध बन्ने हुन्। अब स्पष्ट हुन्छ, बोधिसत्त्वहरूले सौपादिशेष र निरुपादिशेष दुवै निर्वाणको लाभ गरेका हुँदैनन्।
यस अर्थमा बुद्ध र अर्हत् बाहेक अन्यका सन्दर्भमा निर्वाण, परिनिर्वाण वा महापरिनिर्वाण शब्दको प्रयोग गरिनु असीम भावुकता वा गुरुप्रतिको श्रद्धा मात्रै हो। गौतम बुद्धको जन्म, बोधिलाभ र महापरिनिर्वाण अत्यन्तै महत्त्वपूर्ण घटना हुन्। यी तीनै घटना संयोगवश वैशाख पूर्णिमाका दिन परेकाले यसलाई त्रिसंयोग दिवस पनि भन्ने गरिन्छ।
(महर्जन बौद्ध धर्म अध्येता हुन्। हिमालको २०७९ जेठ अंकबाट।)