सिद्धार्थ गौतमले जोगाएका सारसको कसले गर्ने संरक्षण?
सिद्धार्थ गौतमले हाँसलाई मल्हमपट्टी गर्छन्। त्यसलाई निको पारीवरी स्वस्थ्य भएपछि केही दिनमा जङ्गलमा छोडिदिन्छन्। बुद्ध कथाहरूमा पाइने याे किंवदन्तीमा उल्लिखित ‘उड्ने हाँस’ लुम्बिनी क्षेत्रमा पाइने सारस भएको विज्ञहरू बताउँछन्।
सिद्धार्थ गौतम बालक हुँदा कुनै एक दिन बगैंचामा टहलिरहेका थिए। उनको छेउमा बाण लागेर फट्फटाउँदै गरेको एउटा उड्ने हाँस झर्छ। उनले सो हाँसको शरीरमा लागेको बाण झिकेर स्याहारसुसार गरिरहेकै वेला काकाका छोरा देवदत्त आएर आफ्नो ‘शिकार’ माग्छन्। सिद्धार्थ देवदत्तलाई हाँस दिन मान्दैनन्।
हाँसको स्वामित्वमाथिको उनीहरूबीचको विवाद चर्किएर राजाको कचहरीमा पुग्छ। बुबा राजा शुद्धोधनले शिकार गरेर ज्यान लिनुभन्दा ज्यान जोगाउनु ‘ठूलो कर्म भएको’ तर्क गर्दै हाँस सिद्धार्थले राख्न पाउने फैसला गरिदिन्छन्।
सिद्धार्थ गौतम हाँसलाई मल्हमपट्टी गर्छन्। त्यसलाई निको पारीवरी स्वस्थ्य भएपछि केही दिनमा जङ्गलमा छोडिदिन्छन्। बुद्ध कथाहरूमा पाइने याे किंवदन्तीमा उल्लिखित ‘उड्ने हाँस’ लुम्बिनी क्षेत्रमा पाइने सारस भएको विज्ञहरू बताउँछन्।
लुम्बिनी क्षेत्रको सीमसार। तस्वीर: राजेन्द्र सुवाल/डब्लुडब्लुएफ नेपाल।
सारस हालको लुम्बिनी क्षेत्र तथा नेपालको होचो इलाकामा सदियौं अघिदेखि पाइने चरा हो। ठूलो शरीर र तौलका कारण सारस ४०-५० फिटमाथिको हाराहारीमा मात्रै उड्छ, जुन उचाइमा बाण प्रहार गर्न सकिन्छ।
पाली भाषामा लेखिएको दोस्रो–तेस्रो शताब्दीको ‘निदान कथा’ तथा तेस्रोदेखि पाँचौं शताब्दीबीच लेखिएको संस्कृत भाषाको महायानी पाठ ‘ललितविस्तर’ मा भने ती प्रसङ्ग नभएको त्रिभुवन विश्वविद्यालय बौद्ध अध्ययन केन्द्रीय विभागमा अध्यापनरत गौतमवीर व्रजाचार्य बताउँछन्।
“उनको बुद्ध भइसकेपछिको चरित्रलाई हेरेर पछि पछिका जीवनी लेखकले उनमा भएको करुणालाई दर्शाउन सो प्रसङ्ग लेखेको पाइन्छ,” वज्राचार्य भन्छन्, “बुद्धले आफ्नो जीवनीभन्दा आफ्नो शिक्षालाई मात्र प्रचार गरे। कतै कतै प्रवचन दिंदा विषय प्रसङ्गले जीवनीका कुरा उदाहरणमा आए होलान्, नत्र बुद्धत्वबारे लेखिएको शुरूआती चरणका पाली भाषाका कृतिमा उनको जीवनी प्रसङ्ग छैन र यो हाँसको प्रसङ्ग पनि छैन।”
प्राणीशास्त्रीय दृष्टिले सिद्धार्थ गौतमको पालाभन्दा अघिदेखि हालको लुम्बिनी क्षेत्रमा सारस पाइने सारसविद् राजेन्द्र सुवाल बताउँछन्।
“स्थानीयले सारसलाई शुभ सङ्केतको प्रतीकका रूपमा लिन्छन्,” सुवाल भन्छन्, “जोडी सारसलाई देख्नु दीर्घ र सौहार्द दाम्पत्यको आसिक पाए सरह मान्ने विश्वास पनि स्थानीयमा छ।”
.jpg)
नेपालमा सारसको मुख्य वासस्थान लुम्बिनी क्षेत्रका रुपन्देही र कपिलवस्तु हुन्। यी दुई जिल्लामा कुल सारसको असी प्रतिशत सारस पाइन्छन्। हाल नेपालमा लगभग पाँच सय सारस भएको अनुमान छ।
विश्वभर पाइने १५ प्रजातिमा चार प्रजातिको सारस नेपालमा पाइन्छ भने यहाँको रैथाने प्रजाति ‘सारस क्रेन (एन्टिगोन एन्टिगोन) हो। अरू तीन प्रजाति आगन्तुक र फिरन्ते हुन्।
विगतमा नेपालको पूर्वदेखि पश्चिमसम्मको होचो भूभागमा सारस पाइन्थ्यो भने हाल यसको वितरण मध्यनेपालदेखि पश्चिम नेपालमा सीमित भएको छ।
विश्वमै अग्लो उड्ने चरा सारसको उचाइ पाँच फुट हाराहारी हुन्छ भने यसको तौल दश किलोग्रामसम्म हुन्छ। दुवै पखेटा फिजाउँदा झण्डै नौ फिटसम्म लामो हुन्छ। सारस बाहेक बढी पखेटा फिजाउन सक्ने प्रजाति हिमाली गिद्ध हो।
“आकार र तौलका कारण पनि यो धेरै माथि उड्न सक्दैन। झण्डै पचास फुट माथिसम्म मात्र जान्छ,” पन्छीविद् हेमबहादुर कटुवाल भन्छन्। सिमसार, कृषि भूमि र घाँसे मैदानमा बस्ने सारस नेपालमा सन् १८८७ मा अभिलेखीकरण भएको थियो। समुद्री सतहबाट तीन सय मिटरको उचाइमा पाइने सारस दाङको मोतीपुरको पाँच सय ४५ मिटरमा पनि पाइएको थियो।
सन् १९९० पछि मात्र सारसबारे अध्ययन हुन थालेको हो। बच्चा कोरल्न पोखरी, ताल, जङ्गली धान हुने सिमसार र धाप क्षेत्रमा झारपात तथा घाँसको प्रयोगले गुँड बनाउने गर्छ। मानव बस्ती नजिक रहन रुचाउने सारसले सिमसार क्षेत्र अतिक्रमणमा पर्दै जाँदा धान खेतमा गुँड बनाउने गरेको छ।
“यसको ९० प्रतिशत वासस्थान संरक्षण क्षेत्र बाहिर भएकाले पनि बढ्दो प्रदूषण र वासस्थानमा हुने अतिक्रमणले सारस जोगाउन गाह्रो हुँदै गएको छ,” सारसबारे अध्ययनमा संलग्न सिजन ज्ञवाली भन्छन्, “खेतमा गुँड बनाउँदा कुकुर र बँदेलको डर छ।”
.jpg)
सिमसार बिग्रँदै जाँदा र धानखेतमा पानी हुने र आहारा पनि भेटिने हुँदा सारसले गुँड बनाउन र ओथारो बस्न धानखेत रोज्न थालेको कटुवाल बताउँछन्।
यसको गुँड अण्डाकार वा गोलो हुन्छ र यसले डेढदेखि तीन मिटरसम्म ठाउँ ओगट्छ। सामान्यतया यसले दुई वटा अण्डा पार्छ। बच्चा कोरल्न निश्चित तापक्रम चाहिने हुँदा भाले र पोथी दुवै मिलेर ओथारो बस्छन् एवं एक जनाले जहिल्यै गुँडको निगरानी गर्छन्। सारसले जेठ र असारमा ओथारो बस्ने ठाउँ खोज्छ। साउन मध्यमा भाले लागेर अण्डा पार्छ। भदौ तेस्रो साता बच्चा हुर्काउँछ। बच्चा हुर्काउन ३१ देखि ३५ दिन लाग्छ।
सर्प, कीराफट्याङग्रा खाने सारसलाई खेतबारीमा हुने विषादीको प्रयोगले पनि प्रतिकूल असर पारेको छ। त्यस्तै, तराई क्षेत्रमा देखिएको मौसमी फेरबदलले धान खेती प्रभावित हुँदा सारसको जीवनलाई पनि असर परेको एउटा अध्ययनमा देखिएको थियो।
यदि स्थानीयले सारसको गुँड चलाइदिए भने वंशवृद्धिमा असर पुग्छ। लुम्बिनी क्षेत्र विकास कोषले ‘इन्टरन्याशनल क्रेन फाउन्डेसन’ को सहयोगमा लुम्बिनी क्षेत्रमा सारसको वासस्थान सुधारको कार्यक्रमलाई सन् १९९४ देखि अघि बढाउँदै आएको छ। कोषले २५ एकड क्षेत्रमा ‘लुम्बिनी क्रेन स्याङचुरी’ बनाएको छ। पछिल्लो समय विश्व वन्यजन्तु कोषले पनि वासस्थान सुधारका कार्यक्रमहरू सञ्चालन गरिरहेको कोषमा आबद्ध सुवाल बताउँछन्।
“लुम्बिनी क्षेत्रभित्रको वासस्थानमा दुई/चार जोडी सारस स्थायी रूपमा बस्ने गरेका छन्,” ज्ञवाली भन्छन्, “यहीं गुँड बनाए भने सङ्ख्या वृद्धिमा सकारात्मक प्रभाव पर्छ।”
विश्व वन्यजन्तु कोषले सारसका लागि पानीको अभाव हुन नदिन मनसुनको पानीलाई रोक्न बाँध बनाएर कृत्रिम ताल निर्माण गरेको छ। “पछिल्लो तीन वर्षमा कोषले लुम्बिनी क्षेत्रमा १० वटा कृत्रिम ताल बनाउन सहयोग गरेको छ,” सुवाल भन्छन्, “यी ताल क्षेत्रमा तीन/चार जोडीले बच्चा पनि कोरल्ने गरेका छन्।”
संरक्षणका लागि अन्तर्राष्ट्रिय संघ, आइयूसीयनको जोखिम सूची र राष्ट्रिय जोखिम सूचीमा सारस संवेदनशीलको वर्गमा वर्गीकृत छ। वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार नेपालमा संरक्षित नौ चरा प्रजातिमध्ये सारस पनि पर्छ। रुपन्देही नगरपालिकाले सारसलाई नगर पन्छीका रूपमा अङ्गीकार गरेको भए पनि प्रभावकारी संरक्षणको कार्यक्रमलाई भने अघि सार्न सकेको छैन।
भैरहवा करिडोरमा विस्तारित औद्योगिक विकासले समग्र क्षेत्रमा पारेको प्रभावले सारसलाई पनि प्रतिकूल प्रभाव परेको सुवाल बताउँछन्। “पछिल्लो समय बिजुलीको तारमा ठोक्किएर सारस मर्ने क्रम तीव्र देखिएको छ,” सुवाल भन्छन्, “त्यस बाहेक प्रदूषण मुख्य समस्याका रूपमा उदाउँदै छ। हाम्रो गुनासो वातावरण ऐनको प्रावधान किन कार्यान्वयन भएन भन्ने हो।”
सारस जोगाउन जनचेनता अभिवृद्धि गर्ने उद्देश्यले तीन वर्षअघि सन् २०१९ मा लुम्बिनी विकास कोषले ‘सारस महोत्सव’ पनि आयोजना गरेको थियो। कोरोना महामारीका कारण पछिल्ला वर्ष त्यस्तो कार्यक्रम हुन सकेन।
आदिमकालदेखि अस्तित्वमा रहेको सारस लोपोन्मुख हुँदै गएकाले यसको संरक्षणमा ध्यान दिन जरुरी छ। “बुद्धको अहिंसाको सन्देश विश्वमा फैलिइरहेको छ, तर बुद्धको शान्तिको प्रतीक सारस जोगाउने सन्देश पनि विश्वमा फैलाउन जरुरी छ,” सुवाल भन्छन्।
सिद्धार्थ गौतमले घाइते सारसलाई सकुशल बनाएर जंगलमा छोडिदिए तर हामी भने सकुशल रहेको प्राकृतिक अवस्थालाई बिगार्दै छौं। अहिले सारसलाई गाह्रो पर्नु भनेको भोलिका दिनमा हामीलाई नै गाह्रो पर्नु हो। शान्तिको प्रतीक सारसलाई सकुशल राख्न बुद्ध जयन्तीको मनन गर्ने कि?