जितेको घोषणा हुनुअघि वडा सदस्यको मृत्यु
चुनावको परिणाम घोषणा हुनुअघि असहज महसूस गरेर अस्पताल गएका धनकुटाको चौबिसे गाउँपालिकाका नवनिर्वाचित वडा सदस्यको मृत्यु भएको छ।
चौबिसे गाउँपालिका-२ मुढेबासका नवनिर्वाचित वडा सदस्य अटलबहादुर सुर्जेमगरको मृत्यु भएको गाउँपालिकाका निवर्तमान अध्यक्ष खजिन्द्र राईले बताए।
अध्यक्ष राईका अनुसार, गएराति वडा सदस्यको मत परिणाम सार्वजनिक गर्नुभन्दा केही समयअघि उनलाई बिसन्चो भएको थियो। लगत्तै उपचारका लागि बिराटनगर न्यूरो अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको हो।
मतगणना स्थल अगाडि कुर्सीमा बसिरहेका उनले एकाएक असहज भएको बताएका थिए। त्यसपछि उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो।
उनको मस्तिष्कमा रगत जमेको भन्दै रेफर गरेपछि न्यूरो लैजाने क्रममा मृत्यु भएको राईले बताए।
उनी ७९२ मत पाएर वडा सदस्यमा निर्वाचित भएका छन्। यसअघि २०७४ सालको निर्वाचनमा पनि एमालेबाट वडा सदस्य निर्वाचित भएका थिए।