पाेखरामा देशकै दोस्रो ठूलो खानेपानी सुधार आयोजना
पोखरामा देशकै दोस्रो ठूलो खानेपानी सुधार विस्तार आयोजना शुरु भएको छ ।
१२ किलोमिटर टाढाको मर्दी मुहानबाट पानी ल्याई पोखरामा वितरण गर्ने आयोजना नेपाल सरकारको ऋण लगानी र जापान सरकारको रु चार अर्ब ८१ करोड ३० लाख अनुदान सहयोगमा निर्माण हुन लागेको हो ।
मेलम्चीपछिको ठूलो भनिएको सो आयोजनाकाे खानेपानी तथा सरसफाईंमन्त्री बिना मगरले आज शिलान्यास गरिन् ।
सन् २०१७ को फेब्रुअरी १५ मा सम्झौता भएको आयोजना सन् २०२२ को अन्त्यसम्ममा निर्माण गरिसक्ने लक्ष्य छ ।
आयोजना निर्माणपछि पोखारा महानगरको १ देखि १९ वडाका चार लाख पाँच हजार ८८९ जनसङ्ख्या लाभान्वित हुने अपेक्षा खानेपानी संस्थानको छ ।
आयाेजना अन्तर्गत पानी शुद्धीकरणका लागि मर्दी मुहानमा दैनिक चार करोड लिटर क्षमताका बालुवा हटाउने चारवटा ट्याङ्की निर्माण गर्ने, चार वटा पानी थिग्ग्राउने ट्याङ्की तथा पोखरा–१९ पुरुनचौरमा छ वटा पानी छान्ने फिल्टर, दुई वटा सफा पानी सङ्कलन गर्ने ट्याङ्की र क्लोरिनेसन प्लान्ट निर्माण गरिने संस्थानले जनाएको छ ।
खानेपानी भण्डारण गर्न २० लाख लिटर क्षमताका तीन वटा पानी ट्याङ्की पोखराको फूलबारी, पस्र्याङ र कोलपाटनमा निर्माण गरी त्यसमार्फत बजारका विभिन्न भागहरुमा वितरण गर्ने योजना छ ।
शिलान्यास कार्यक्रममा मन्त्री मगरले खानेपानी जनताको मौलिक अधिकारको रुपमा संविधानमा व्यवस्था भएबमोजिम देशका सबै जनतालाई प्रशोधित शुद्ध पिउने पानीको प्रबन्ध गर्न सरकार प्रतिबद्ध रहेको बताइन् ।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले प्रदेश सरकारको पहिलो निर्णयनै दुई वर्षभित्रमा प्रत्येक जनताको घरमा धारा पुर्याउने रहेको बताउँदै खानेपानी विस्तार तथा शुद्धीकरण योजनाले लक्ष्य हासिल गर्न सघाउने जानकारी दिए ।