त्रिविले आइतबार बिदा दिने निर्णय लागू नगर्ने
त्रिभुवन विश्वविद्यालयले आइतबार सार्वजनिक बिदा दिने सरकारी निर्णय लागू नगर्ने भएको छ।
विश्वविद्यालयले आइतबार सूचना जारी गरी अहिले साविक बमोजिम नै आइतबार समेत विश्वविद्यालयको नियमित पठनपाठन र अन्य सेवा सञ्चालन हुने जनाएको छ। सरकारले जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
कोभिड–१९ महामारीको असरका कारणले शैक्षिक पात्रो ढिलो भएको, पठनपाठन र परीक्षा तालिका पहिले नै निर्धारण भइसकेको तथा विश्वविद्यालयको पाठ्यक्रमको संरचना समेत ६ दिनलाई ध्यानमा राखेर निर्माण भइसकेको हुँदा हप्तामा ६ दिन नै पठनपाठन हुने त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाले जनाएको छ।
यससँगै विश्वविद्यालयबाट प्रदान गरिने स्वास्थ्य सेवा लगायत अन्य सेवालाई समेत ६ दिन नै सञ्चालन गरिनेछ।