प्रनेश पक्राउ प्रकरणः अभिव्यक्ति स्वतन्त्रताकै उपहास
चलचित्र ‘वीर विक्रम २’ को समीक्षा गरेको आरोपमा पक्राउ परेका यूट्युबर प्रनेश गौतमलाई काठमाडौं जिल्ला अदालतले थप एक दिन हिरासतमा राख्न आदेश दिएको छ । गौतमलाई २४ जेठमा प्रहरीले पक्राउ गरेको थियो । उनी माथि ‘विद्युतीय कारोबार ऐन उल्लंघन’ गरेको आरोप लगाइएको छ ।
गौतमले चलचित्र ‘वीर विक्रम २’ को समीक्षा गरेको भिडियो यूट्युब च्यानल ‘मीम नेपाल’मा अपलोड गरेका थिए । जसमा ठट्यौली शैलीमा चलचित्रबारे आलोचनात्मक टिप्पणी गरिएको थियो । भिडियो समीक्षामा चलचित्रको कथा हिन्दी चलचित्र ‘शोले’ सँग हुबहु मिलेको, शीर्ष कलाकारको अभिनयमा कुनै दम नभएको, निर्देशकीय पाटो कमजोर रहेको लगायतका कुरा उल्लेख गरिएको थियो ।
उक्त भिडियोले चलचित्रको व्यापार तथा कलाकार र आफ्नो साखमा असर परेको भन्दै निर्माता/निर्देशक मिलन चाम्सले दुई साताअघि प्रनेश विरुद्ध प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा प्रहरीले प्रनेशलाई पक्राउ गरी ‘विद्युतीय कारोबार ऐन’ अन्तर्गत मुद्दा चलाएको छ ।
चलचित्रको आलोचना गर्दैमा पक्राउ गरिनु अभिव्यक्ति स्वतन्त्रताको हनन् भएको जानकारहरु बताउँछन् । साइबर कानूनका जानकार अधिवक्ता बाबुराम अर्यालको भनाइमा यस्तो विषयमा मुद्दा चलेर अदालतसम्म पुग्नु शक्तिको चरम दुरुपयोग हो ।
“प्रहरी प्रशासन कानूनप्रति गैरजिम्मेवार भएको यो प्रकरणले देखाउँछ” उनी भन्छन्, “प्रशासनले शक्तिको पछि लागेर एउटा व्यक्तिलाई कतिसम्म दुःख दिन सक्छ भन्ने उदाहरण हो यो।”
प्रहरीले प्रमाण विना नै मुद्दा दर्ता गरेको अधिवक्ता अर्यालको भनाइ छ । अपराध हुनको लागि समाजलाई ‘हानि’ भएको हुनुपर्छ, उक्त भिडियोले समाजलाई कुनै ‘हानि’ नपुर्याएको अर्यालको बुझाइ छ ।
उनी भन्छन्, “प्रहरी प्रशासनको यस्तो क्रियाकलाप लोकतान्त्रिक समाजको लागि विडम्बना हो ।” यस्तो प्रवृत्तिले समाजको सिर्जनात्मक क्षमतामा ह्रास ल्याउने र मुलुकलाई अधिनायकवादतर्फ धकेल्ने अर्याल बताउँछन् ।
ठट्यौली समीक्षाकै आधारमा मुद्दा चलाइनु गलत भएको नेपाली कांग्रेसका सांसद गगन थापा बताउँछन् ।
उनले ट्वीटरमा लेखेका छन्– ‘‘एब्सर्डिस्ट ह्युमर’ लाई विश्वभर सामान्य रूपमा लिइन्छ । त्यस्तै शैलीमा सिनेमाको हस्यौली समीक्षा गरेकोमा प्रनेश गौतमलाई नेपाल प्रहरीद्वारा साइबर अपराधमा पक्राउ गरिनु दुर्भाग्यपूर्ण र अभिव्यक्ति स्वतन्त्रताको खिलाफ छ । आलोचनात्मक चेत लोकतन्त्रको मूल मर्म हो, यसको संरक्षण गरियोस् ।’
अभिव्यक्ति स्वतन्त्रता नागरिकका लागि संविधानप्रदत्त मौलिक हक हो । अभिव्यक्ति स्वतन्त्रताका नाममा अरूको मानहानि वा अपमान गर्दा ‘विद्युतीय कारोबार ऐन’ नभएर अरू नै कानून आकर्षित हुन्छन् ।
नागरिकले सार्वजनिक सरोकारका विषयमा प्रतिक्रिया जनाउन र अरूको सिर्जनामा टीकाटिप्पणी गर्न सक्छन् । यो लोकतन्त्रको सुन्दर ‘उपहार’ हो। तर, प्रतिक्रियाकै आधारमा पक्राउ गर्नु, मुद्दा चलाउनु प्रहरीको ‘काम देखाउने’ शैली बाहेक केही नभएको जानकारहरुको भनाइ छ । यस्तो क्रम बढ्दै गए साइबर अपराध कानूनको दुरुपयोग हुने र समाजमा कानूनी अराजकता बढ्ने उनीहरू बताउँछन् ।
चलचित्र एउटा ‘प्रोडक्ट’ भएकाले समीक्षा गरेको कारण यसमा मानहानिको मुद्दा समेत नलाग्ने अधिवक्ता अर्याल बताउँछन् । भन्छन्, “मानहानिको मुद्दा लाग्न व्यक्तिगत रुपमै गालीगलौजमा उत्रेको हुनुपर्छ ।”
समीक्षा भिडियो समग्र चलचित्र विरोधी भएको भन्दै चलचित्र निर्माता संघ नै प्रनेश विरुद्ध लागेको छ । ‘वीर विक्रम २’ का निर्माता/निर्देशक चाम्सको पक्ष लिंदै चलचित्र निर्माता आकाश अधिकारी, अभिनेता/निर्माता भुवन केसी, सञ्चारकर्मी नरेश भट्टराई लगायतको टोली पनि महानगरीय अपराध महाशाखा, टेकू पुगेको थियो । उनीहरुले नकारात्मक समीक्षाको कारण समग्र नेपाली चलचित्रको बजार चौपट भएको भन्दै प्रनेशलाई कडा सजायको माग गरेका छन् ।
स्रोतका अनुसार, निर्माता/निर्देशक चाम्सले मीम नेपाल च्यानल बन्द गर्दा मुद्दा फिर्ता लिने आश्वासन दिएका थिए । तर, प्रनेश गौतम पक्षले बन्द गर्ने सर्त मान्दा पनि चाम्सले मुद्दा फिर्ता लिएका छैनन् । चाम्सले रु.१ करोड क्षतिपूर्ति दिए मुद्दा फिर्ता लिने नयाँ माग गरेको जनाइएको छ ।
चलचित्र ‘वीर विक्रम–२’ ३ जेठमा प्रदर्शन भएको थियो । त्यसको पाँच दिनपछि प्रनेशले भिडियो समीक्षा गरेका थिए । चलचित्र निर्माण टिमले आपत्ति जनाएपछि मीम नेपालले उक्त भिडियो यूट्युबबाट हटाइसकेको छ ।