जन्तेढुंगा गाउँपालिका अध्यक्षमा अरुणादेवी राई निर्वाचित
खोटाङको जन्तेढुंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन्।
आइतबार मध्याह्न सम्पन्न मतगणनामा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार अरुणादेवी राई अध्यक्षमा निर्वाचित भएकी हुन्। उनले दुई हजार ८८१ मत पाएकी छन्।
उनका प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार शंकरबहादुर राईले दुई हजार ५७५ मत पाएका छन्।
त्यस्तै, उपाध्यक्षमा नेपाली कांग्रेसका खेमबहादुर खड्का दुई हजार ८०५ मत लिएर निर्वाचित भएका छन्। प्रतिस्पर्धी एमाले उम्मेदवार विमला राईले दुई हजार ४९५ मत पाएकी छन्।
२०७४ सालको निर्वाचनमा निर्वाचित शंकर र विमलालाई एमालेले यस पटक पनि उम्मेदवार बनाएको थियो। जन्तेढुंगाका ६ मध्ये एउटा वडा मात्रै एमालेका उम्मेदवार निर्वाचित भएका छन्।
जन्तेढुंगा गाउँपालिका-१ देवीस्थानमा माओवादीका केदारमान राई, जन्तेढुंगा-२ बोपुङमा माओवादीकै मस्तबहादुर राई, जन्तेढुंगा-३ काहुलेमा कांग्रेसका तारामान राई, जन्तेढुंगा-४ डम्बर्खु शिवालयमा एमालेका विदुरमान राई, जन्तेढुंगा-५ चिसापानीमा कांग्रेसका धनबहादुर राई र जन्तेढुंगा गाउँपालिका-६ दिप्लुङमा कांग्रेसका सागर राई वडाध्यक्षमा निर्वाचित भएका छन्।