बाँकेको नरैनापुरमा बल्ल चल्न थाल्यो नेपाली नोट
नेपालको भूमि भए पनि नेपाली नोट नचल्ने बाँकेको नरैनापुर गाउँपालिकाका सीमावर्ती गाउँहरुमा नेपाली नोटबाटै कारोबार हुन थालेको छ ।
स्थानीय तहमा अनिवार्य बैंक विस्तार गर्नुपर्ने नीति लागू भएपछि यसअघि नेपाली नोट नचल्ने राप्तीपारिका गंगापुर, मटेहिया, कालाफाँटा, लक्ष्मणपुर, कटकुइँया लगायतका गाउँहरुमा नेपाली नोटबाट कारोबार हुन थालेको हो ।
एक स्थानीय तह, एक बैंक’ भन्ने सरकारी नीति अनुसार अहिले नरैनापुरमा सनराइज बैंकले शाखा स्थापना गरेको छ ।
“नेपाली एक हजारको मूल्य ९६० मात्रै थियो । हामीलाई ४० रुपैयाँ नोक्सानी हुन्थ्यो”, मटेहियाका सोनकर यादवले भने, “अहिले नेपाली रुपैयामा कारोबार गर्न पाउँदा सजिलो र बचत पनि भएको छ ।”
नेपाली पैसा नचलेपछि ती गाउँका नागरिकलाई सरकारी कामबाहेक अन्य सबै कारोबारका लागि भारतीय बजारमै निर्भर हुनुपर्ने बाध्यता थियो । त्यहाँ पुग्ने मानिस भारतीय नोट नबोकी जाँदा भोकभोकै फर्किनु पर्ने बाध्यता थियो ।
गाउँमै बैंक स्थापना भएपछि बैंकिङ्ग कारोबारमा पनि सहज भएको स्थानीयले बताएका छन् । “रोजगारीमा गएकालाई पनि घरमा पैसा पठाउन सजिलो भएको छ,” कालाफाँटाका नन्कौ यादवले भने ।
अहलिे ती गाउँहरुमा बैकिङ् कारोबारमा सर्वसाधारणको रुची बढेको बैंकका शाखा प्रबन्धक खड्गप्रसाद देवकोटाले बताए । उनका अनुसार भारुको प्रयोग पूरै रोकिएको भने छैन ।
बैंकमा सरकारी र स्थानीय गरी करीब पाँच हजार खाता खोलिएका छन् ।
“बुझाउन धेरै मेहनत लाग्यो, अहिले स्वतःस्फूर्तरुपमा खाता खोल्न आउनेहरुको सङ्ख्या बढिरहेको छ”, उनले भने ।
विदेशमा रहेका आफन्तले पठाएको पैसा बुझ्नकै लागि नेपालगञ्ज र भारतीय बजारमा पुग्नुपर्ने बाध्यता हटेको स्थानीयवासी निजामुद्दिन खानले बताइन् ।